७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

वाइडबडी प्रकरणः गृह सचिव राईपछि प्रतिवेदनमा निर्दोष हुने पालो पर्यटनमन्त्री अधिकारीको


२१ पुस, काठमाडाैँ । वाइडबडी विमान खरिदमा गृह सचिव प्रेमकुमार राई निर्दोष पाइएपछि संसद्को सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिको प्रतिवेदन सच्चिने भएको छ । राई पर्यटन सचिव हुँदा उनले नयाँ विमान खरिदका लागि अध्ययन गर्न उपसमिति गठन गरेका थिए । पर्यटन मन्त्रालयका अनुसार राईले २ वैशाख २०७३ सालमा नयाँ विमान खरिदका लागि अध्ययन समिति गठन गरेपछि उनको अन्यत्र सरुवा भएको थियो । लेखा समितिका सचिव रोजनाथ पाण्डेले राईको पालामा नयाँ जहाज खरिदकै लागि उपसमिति गठन गरिएकाले राई निर्दोष पाइएको बताए ।

सचिव पाण्डेले राईको पालामा नयाँ जहाज खरिदकै निणर््ाय देखिएकाले समिति सभापतिको रायअनुसार यस विषयलाई गम्भीरतापूर्वक सच्याउने निर्णय भएको जानकारी दिए । सो निर्णयअनुसार गृह सचिव राई पूर्ण रूपमा निर्दोष साबित हुने भएका हुन् ।सरकारकै अधिकारीका अनुुसार अहिलेका बहालवाला ६० जना सचिवमध्ये गृह सचिव राई सम्भवतः सबैभन्दा इमानदार र निर्भीक सचिवका रूपमा परिचित छन् । जब उपसमितिको प्रतिवेदन सार्वजनिक हुँदा वाइड बडी खरिद प्रक्रियामा भएको अनियमिततामा तत्कालीन पर्यटन सचिव र हालका गृह सचिव राईको नाम देखियो । त्यसपछि सरकारी अधिकारी र अधिकांश राजनीतिक दलका नेता नै आश्चर्यमा परे । सबैको प्रश्न तेर्सिन थाल्यो, ‘निर्दोषको किन हुर्मत लिने काम भयो ?’ कतिपय सरकारी अधिकारीले तत्काल प्रतिक्रिया दिए, ‘यो हुनै सक्दैन ।

सबैभन्दा इमानदार सचिव जो छ, उसैलाई भ्रष्टचारी साबित गरेर के गर्न खोजिएको हो ?’ बिहीबार र शुक्रबार सिंहदरबारभित्र आमकर्मचारीमा एक प्रकारको निराशा र हतासपन देखिन पुगेको थियो । राईजस्ता निर्भीक र निःस्वार्थी सचिवलाई हतास बनाउन खोज्नु सुशासनको हुर्मत लिनु भएको भन्दै कर्मचारीहरूमा आक्रोश पनि त्यतिकै देखिन पुगेको थियो । यसअघि अख्तियारका तत्कालीन प्रमुख लोकमान सिंह कार्कीले पनि तत्कालीन सचिव शरदचन्द्र पौडेललाई यसरी नै दोषी करार गर्दा निजामती क्षेत्रमा त्यस्तै आश्चर्य व्यक्त गरिएको थियो । पौडेल समकालीन सचिवमध्ये इमानदारमा गनिन्थे । त्यसबाट पौडेलले धेरै मानसिक यातना भोग्नुप¥यो तर पछि उनले सर्वोच्च अदालतबाट सफाइ पाए । हचुवामै राईलाई आरोप लगाइए पनि गृह सचिव राई भने विचलित देखिएनन् । उनी आफू निर्दोष साबित हुनेमा ढुक्क थिए । दुई दिनमा उनलाई शुभचिन्तकहरूको सयौं फोन आयो । जवाफ दिँदा दिँदै उनी हैरान भए । ‘मलाई कुनै चिन्ता छैन तर तपार्इंहरू जस्ता कैयौं शुभचिन्तकको प्रश्नको उत्तर दिँदा दिँदै थकित जस्तो बन्न पुगेको छु,’ राईले शुक्रबार  भने ।

राईलाई नजिकबाट चिन्ने जोसुकैले पनि उनले कुनै गलत काम ग¥यो भनेर पत्याउनै सक्दैनन् । ‘मैले कहिल्यै पनि इमानदारिता गुमाउन चाहिनँ, गलत कामको कहिल्यै साक्षी बस्न सकिनँ,’ राइले भने, ‘तर, अहिले अनाहकमा भ्रष्टचारको आरोप लगाइँदा कताकता निकै चित्त दुखेर आएको छ ।’ उनको गुनासो छ । केही सहकर्मीहरूले उनलाई भेटेर उनीविरुद्धको आरोपको सामूहिक प्रतिरोध गर्न आफूहरू तयार रहेको बताएका थिए तर राईले सहकर्मीहरूलाई तातो रिस गर्न नहुने र आफू हतास नभएकाले चिन्ता नलिन आग्रह गरेका थिए ।

राई १८ माघ २०७२ देखि २७ भदौ २०७३ सम्म पर्यटन मन्त्रालयका सचिव थिए । उनी सचिव रहँदा उनले विमान खरिदबारे कुनै महŒवपूर्ण निर्णय गरेको देखिएको छैन् । तर, उनको पालामा नयाँ जहाज खरिदका लागि उपसमिति गठन गर्ने निर्णय मात्रै भएको थियो । राईले पर्यटन सचिव हुँदा २ वैशाख २०७३ सालमा विमान खरिदका लागि उपसमिति गठन गरेका थिए । लेखा समितिका एक सदस्यका अनुसार राईको पालामा खरिद प्रक्रिया अगाडि बढाउने निर्णय भएको भन्ने गलत सूचना आएकाले गलत निर्णय हुन पुगेकाले सच्याइने भएको हो । ‘त्रृटिवश त्यस्तो हुन पुगेछ, अहिले हेर्दा राईले त्यतिबेला नयाँ जहाज खरिदकै लागि उपसमिति गठन गरेका रहेछन्,’ लेखा समितिका ती सदस्यले भने ।

पर्यटन सचिव राईले २ वैशाख २०७३ सालमा नयाँ विमान नै ल्याउनुपर्ने तर्कसहित त्यसका लागि आवश्यक अध्ययन गर्न उपसमिति गठन गर्ने निर्णय गरेका थिए । त्यसपछि राईको अन्यत्र सरुवा भयो । ‘राई सम्भवतः पर्यटन सचिवका रूपमा रहिरहेको भए सेकेन्ड ह्यान्ड विमान खरिदको प्रक्रिया अगाडि बढ्नै पाउँदैनथ्यो,’ पर्यटन मन्त्रालयका एक सहसचिवले भने, ‘जो इमानदार छ, उसैलाई फसाउन खोजियो । यसले गर्दा हामीलाई पनि काम गर्ने जाँगर नै मरेर आयो ।’ राई भने विहीबार र शुक्रबार पनि अबेरसम्मै मन्त्रालयको काममा डटेर खटिएका थिए । राजधानी दैनिकबाट

प्रकाशित मिति : २१ पुष २०७५, शनिबार ०९:५३