७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

खेलकूद विकासमा स्पष्ट नीति आवश्यकः प्रदेश प्रमुख कुँवर


१४ पुस, कास्की ।  गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले देशमा खेलकूदको विकासका लागि स्पष्ट नीति आवश्यक रहेको बताउनुभएको छ । पोखरा म्यासेञ्जरको विशेष प्रकाशन “फुटबल” पुस्तकको आज पोखरामा विमोचन गर्नुहुँदै कुँवरले खेलाडी र खेलका माध्यमबाट व्यक्ति, परिवार, समाज र देशकै प्रतिष्ठा बढ्ने भएकाले खेलकूद विकासका लागि राज्यले स्पष्ट नीतिका साथ योजना बनाएर बजेट विनियोजन गर्नुपर्र्नेमा जोड दिनुभयो ।

प्रकाशित पुस्तक यस क्षेत्रको फुटवल विकासको अभिलेख भएको र भावी पुस्ताले यसलाई प्रेरणाको रुपमा ग्रहण गर्ने उहाँको भनाइ छ । पर्यटन र खेलकूदबीच अन्योन्याश्रित सम्बन्ध रहेको चर्चा गर्दै उहाँले पर्यटकीय शहर पोखरामा खेल गतिविधिको विस्तार गर्दै उन्नत खेलमार्फत क्षमतावान खेलाडी उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।

गण्डकी प्रदेशसभा सदस्य दीपक कोइरालाले पुस्तकले यस क्षेत्रमा फुटबल खेलको विकासको इतिहास बुझ्न सहयोग पुग्ने धारणा राख्नुभयो ।
पुस्तक प्रकाशक तथा अखिल नेपाल फुटबल सङ्घ(एन्फा) का पूर्व केन्द्रीय उपमहासचिव गणेशबहादुर भट्टराईले फुटबलको विकासका लागि प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रङ्शालालगायत पूर्वाधार निर्माण गरिनुपर्ने बताउनुभयो ।
सम्पादक विनोद लामिछानेले गण्डकी प्रदेशमा खेलको इतिहाससहित आगामी दिनमा गर्नुपर्ने कार्यको बारेमा पुस्तकमा समेटिएको बताउनुभयो ।

प्रकाशित मिति : १४ पुष २०७५, शनिबार १७:१५