१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

सार्वजनिक जग्गा हडप्ने छाँया सेन्टरको योगेशबाट उद्घाटन, स्थानीयको चर्को बिरोध (भिडियोसहित)


–पवित्रा मुडभरी 

१० पुस, काठमाडाैँ । सार्वजनिक जग्गा कब्जा गरी बनाइएको ठमेकलको छायाँ सेन्टरको मंगलबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता समेत रहेका सांसद योगेश भट्टराईले उद्घाटन गरेका छन । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारी अाउने भने हल्ला चलाएको कार्यक्रममा अन्तिम समयमा सांसद भट्टराईलाई उद्घाटन गर्न लगाइको थियो ।

काठमाडौँको पर्यटकीय क्षेत्रमा निर्माण गरिएको “ठमेलभित्रको ठमेल” भनेर चिनाइएको छायाँदेवी कम्प्लेक्सको निर्माणको लागि नजिकै रहेको थं विहारका परम्परागत कार्यको लागि प्रयोग गरिँदै आएको प्राचीन कमल पोखरीको गुठी जग्गा गैरकानुनीरुपमा हरण गरिएको भन्दै स्थानीयले कालो व्यानरसहित प्रदर्शन गरेका थिए । उनीहरूले चर्को स्वरमा नाराबाजी गर्दै विकासका नाममा प्राचीन कमल पोखरीको गुठी जग्गा विनास गर्न नपाइने बताएका थिए ।

निर्माण सुरू गर्नुपूर्वनै विवादित बनेको यस जग्गाको विषय मिलाउनका लागि त्यतिखेर सञ्चार माध्यममा समाचार रोक्नका निम्ति तत्कालीन नेकपा एमालेका नेताहरू नै प्रयोग भएका थिए । सार्वजनिक जग्गाको विषयमा विवादित फैसला गरेको भन्दै दीपकराज जोशीलार्इ प्रधानन्याधीशमा अयोग्य घोषित गर्ने कामका अगुवा योगेश भट्टराईले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएको छाँया सेन्टरको उद्घाटन गरेको भन्दै स्थानीयले भट्टराईप्रति पनि अाक्रोश पोखेका थिए ।

अधिवक्ता दिपक विक्रम मिश्रले नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, संघीय मामिला तथा स्थानीय विकास, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शहरी विकास र वातावरण विज्ञान तथा प्रविधि मन्त्रालय, काठमाडाैँ जिल्ला प्रशासन कार्यालय, पुरातत्व विभाग, काठमाण्डौ महानगरपालिका, मालपोत कार्यालय, गुठी संस्थान र उपत्यका विकास प्राधिकरणलगायत छायाँदेवी कम्पलेक्स प्रा लि, सो जग्गा आफ्नो नाममा दर्ता गराएका केशर शम्सेरको बुहारी केयुर शम्सेरको पत्नी अम्बिका राणा तथा उक्त थं विहार (विक्रमसिल महाविहार) गरुड भगवान गुठीका गुठीयारहरुलाई समेत विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट समेत हालेका थिए ।

स्थानीयले साविक काठमाडौँ नगरपंचायत वडा नं ९ को क्षेत्रफल २६–८–०–० ९छब्बिस रोपनी आठ आना भएको जग्गा पुरातात्विक ऐतिहासिक, धार्मिक एवं सांस्कृतीक महत्वको कमलपोखरी, पोखरीको डिल र कित्ता.नं. १०४० को क्षेत्रफल ०–९–२–३ भएको जग्गा चोक जनिई नापजाँच भएको उल्लेखित पोखरी र चोक समावेश भएको जग्गा सार्वजनिक जग्गा भएकोले उक्त क्षेत्र सार्वजनिक नै कायम गर्नेपर्ने बताउँदै अाएका छन । साविक काठमाडाैँ नगरपंचायत वडा न. २९ को श्री सिहसार्थ वाह गरुड भगवानको नाममा रहेको कि.नं. १६७ को कमल पोखरीको डिल सहित २६–८–० जग्गा साविकमा दर्ता श्रेस्ता कायम हुनुपर्नेमा उक्त जग्गा मध्ये कि.नं १६७ को क्षेत्रफल १२–१३–२ तथा कि.नं. १०४० को क्षेत्रफल ०९–२–२ जग्गा कायम राखी बाँकी जग्गा स्व. केयुर शम्सेरले आफ्नो पर्खाल भित्र पारी अन्य कित्ता जग्गामा समावेश गरेको र २०३३ सालमा स्थानीय गुठीसँग गरिएको मिलापत्र अनुसार पोखरीको क्षेत्रफल २६–८–० हुनुपर्नेमा कि.नं. १६७ मा जम्मा १२–१३–२ मात्र जग्गा रहेको देखिन्छ अनि कि.नं. १६७ पोखरी र कि.नं. १०४० चोक जनिई नापचाँज भएकोले उल्लेखित पोखरी र चोक ऐतिहासिक, पुरातात्विक धार्मिक सांस्कृतीक सम्पदा भएकोले सार्वजनिक जग्गा हो भन्ने स्पष्ट रहेको रिट दायर गर्ने अधिवक्ता दिपक विक्रम मिश्र बताउँछन ।

बिरोधको सानो क्लिप भिडियोमा

 ‘ठमेलभित्रको ठमेल’ का रुपमा कम्पनीले प्रवद्र्धन गरेको छायाँ सेन्टर नेपालकै सबैभन्दा अत्याधुनिक र सुविधा सम्पन्न सपिङ कम्प्लेक्स भएको संचालकहरुको दाबी छ । उक्त कम्प्लेक्समा ठमेल बजारमा पर्यटनसँग जोडिएका सबै किसिमका सेवा एकै ठाउँमा उपलब्ध हुने भएकाले यसलाई ‘मिनी ठमेल’ को रुपमा प्रवद्धन गरिएको उनीहरूले बताएका छन ।

कम्प्लेक्समा तीन वटा मल्टिप्लेक्स थिएटरका साथै विभिन्न सामाग्रीका पसल, एयरलाइन्स, ट्राभल एजेन्सी, ब्यांक्वेट हल, सेमिनार हल, रिसेप्सन हल, रेष्टुरेन्ट, क्लब लगायत सुविधा पनि उपलब्ध छन् । यस्तै, बैंकका शाखा, कर्पोरेट कम्पनीका कार्यालयहरु पनि सेन्टरमा रहनेछन् । छाँया सेन्टरमा पाँच तारे स्तरको अलफ्ट होटल पनि आगामी मार्च महिनादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छाँया कम्पलेक्सका संचालक सुमन पाण्डेले जानकारीदिए। अहिले होटलको इन्टेरियर डिजाइनको काम हुँदैछ । १५ तले भवनको पाँचौंदेखि १५औं तलासम्म अलफ्ट होटल सञ्चालन हुनेछ । होटलसँगै छायाँ सेन्टरमा क्यासिनो पनि सञ्चालनमा आउने बताइएको छ ।

प्रकाशित मिति : १० पुष २०७५, मंगलवार १९:२७