१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

हिमालयन मल्टिपल कलेज गएका नेकपा नेता भण्डारी वेपत्ता, २४ घण्टासम्म पनि अवस्था अज्ञात


५ पुस, झापा । नेकपाका मेचीनगर नेता दीपक भण्डारी हिजो बिहानदेखि सम्पर्कविहीन भएपछि खोजी शुरु भएको छ । तत्कालीन नेकपा एमालेको मेचीनगर अध्यक्ष, धुलावारी जेसिसका पूर्वअध्यक्ष, हिमालयन मल्टिपल कलेजका निर्देशकलगायत थुपै्र जिम्मेवारीमा रहनुभएका भण्डारी मेचीनगर–१० स्थित आफ्नै घर नजिकबाट बुधबार बिहान करीब साढे ९ बजेदेखि सम्पर्कविहीन हुनुभएको उहाँकी पत्नी गीता भण्डारीले बताउनुभयो । “हिजो बिहान साढे ९ बजेतिर कलेज जान्छु भनेर घरबाट बाहिर निस्कनुभएको थियो, त्यसपछि उहाँसँग सम्पर्क हुनसकेको छैन”, उहाँले भन्नुभयो ।

नेता भण्डारीले आफ्नो मोटरसाइकल र दुई थान मोबाइल घरमै छाड्नुभएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले उहाँ सम्पर्कविहीन हुनुभएको खबर आएलगत्तै खोजीकार्यका लागि प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो ।

बुधबार बिहान ८ बजेतिर घर नजिक रहेको हिमालयन मल्टिपल कलेजमा आएर नेता भण्डारी फर्किनुभएको कलेजका सञ्चालक भाष्कर निरौलाले बताउनुभयो । प्रहरी नायब उपरीक्षक श्रेष्ठले नेता भण्डारीको मोबाइलको कल डिटेल लिने र उहाँसँग आर्थिक कारोवार भएकाहरुसँग बुझ्ने कार्य भइरहेको जानकारी दिनुभयो । रासस

प्रकाशित मिति : ५ पुष २०७५, बिहीबार ०९:३२