६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

शेयर बजारमा सामान्य अंकले बढ्यो, नेप्से परिसूचक ७.६ अङ्कले वृद्धि


२७ मंसिर, काठमाडाै । धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य अङ्कले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक सात दशमलव छ बिन्दुले बढेर एक हजार १४८ दशमलव ७८ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ६४ बिन्दुले बढेर २४४ दशमलव ७० बिन्दुमा पुगेको छ ।

स्टकक अनुसार आज कूल १५४ कम्पनीको नौ लाख ९७ हजार ६७२ कित्ता शेयर रु ३२ करोड ३७ लाख ५८ हजार ७४ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका दश उपसमूहमध्ये आज तीन उपसमूहको शेयर घटेका छन् भने सात उपसमूहको शेयर कारोवारमा वृद्धि भएको छ । होटल एक दशमलव ८५, वित्त शून्य दशमलव ४४ र अन्य उपसमूह दुई दशमलव ५७ बिन्दुले घटेको छ ।

बैंकिङ आठ दशमलव ५५, विकास बैंक आठ दशमलव ८७, जलविद्युत् आठ दशमलव आठ, निर्जीवन बीमा ६५ दशमलव ७८, उत्पादन पाँच दशमलव ३८, लघुवित्त ११ दशमलव ६१ र जीवन बीमा ३० दशमलव २७ बिन्दुले बढेको छ ।

साताको कारोवार हुने आज अन्तिम दिन नागबेली लघुवित्त वित्तीय संस्था, रैराङ हाइड्रोपावर कम्पनी, लक्ष्मी लघुवित्त वित्तीय संस्था, काबेली विकास बैंकका शेयरधनीले कमाएका छन् । सूर्योदय लघुवित्त वित्तीय संस्था, सेन्ट्रल फाइनान्स लिमिटेड, पञ्चकन्या माई हाइड्रोपावर र महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७५, बिहीबार १६:२६