१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

मध्यमोदी जलविद्युत् आयोजनाको निर्माण ठप्प


१३ मंसिर, पर्वत । औद्योगिक घरना चौधरी ग्रुपले पर्वतमा निर्माण गरिरहेको १५ दशमलव १ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको निर्माण दुई दिनदेखि ठप्प भएको छ ।

आयोजनामा कार्यरत मजदूरले आन्दोलन गरेपछि बुधबारदेखि निर्माण रोकिएको हो । मजदूर आन्दोलनका कारण सुरुङ, पावर हाउस, इन्टेकलगायतका संरचना निर्माण कार्य प्रभावित भएको छ ।

आयोजनाको सुरुङमा विष्फोटनका लागि माटोको लोला भर्ने काममा संलग्न मजदूरलाई निष्कासनको विरोध गर्दै मजदूरले निर्माण कार्य बन्द गराएका छन् । निष्कासन गरिएका छ जना महिलालाई पुर्नबहाली गर्नुपर्ने माग मजदूर युनियनको छ । आयोजनाले भने सुरुङमा विष्फोटनको काम सकिएको र निर्माण कार्य अन्तिम चरणमा पुगेका कारण माटोको लोला भर्नु नपर्ने हुँदा कर्मचारी निष्काशन गरिएको बताएको छ ।

आयोजना प्रमुख नीरञ्जनकुमार राउतले काम नभएका कारण असारदेखि नै तलब निकासा नभएका कारण दशैँपछि निष्कासन गरिए पनि छलफल गरी समस्या समाधानको प्रयास भइरहेको बताउनुभयो ।

“काम नभएका कारण मजदूर निष्कासन गरिएको हो”, आयोजना प्रमुख राउतले भन्नुभयो, “हामीले छलफल र संवादबाट मजदूरलाई वैकल्पिक ढङ्गले व्यवस्थापन गर्ने योजनामा छौँ ।” पर्वतको मोदी गाउँपालिका र कास्कीको अन्नपूर्ण गाउँपालिकामा निर्माण भइरहेको आयोजनाको दुई हजार ७०० मिटर सुरुङमध्ये दुई हजार ४०० मिटर सुरुङ निर्माण सकिएको छ । बाँकी भागमा विष्फोटन नगरी निर्माण अघि बढेको आयोजना प्रमुख राउतले बताउनुभयो ।

आयोजनाको निर्माण विसं २०७१ मङ्सिरदेखि शुरु भएको थियो । आयोजनामा कास्कीको वीरेठाँटी र पर्वतको भुकताङ्लेको सिमानामा पर्ने सिमखेतमा बाँध निर्माण गरी पर्वतको देउपुर–२ बेतेनीसम्म दुई हजार ६९३ मिटरको सुरुङमार्फत ल्याएको पानी ७७ मिटर लामो टेलेरेसमार्फत मोदीखोलामा मिसाउने योजना छ ।

यहाँ उत्पादित विद्युत् चार किमी लामो प्रसारण लाइनमार्फत देउपुर–पोखरा १३२ केभी सवस्टेशन देउपुरमा जडान गरिनेछ । उक्त प्रसारण लाइन र सवस्टेशन निर्माणको प्रक्रिया भने भर्खर शुरु भएको छ । आयोजनामा प्राइम बैंकको नेतृत्वमा सात वटा बैंकले लगानी गर्ने गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले स्थानीय मोदी गाउँपालिकालाई जलविद्युत् आयोजनाको समस्या समाधानका लागि पहल गर्न आग्रह गरिएको बताउनुभयो ।

प्रकाशित मिति : १३ मंसिर २०७५, बिहीबार २१:२५