६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

शहीद स्मारक ए डिभिजन लिग–आर्मीले सङ्कटालाई हरायो


१० मंसिर, काठमाडाै । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि शुरु भएको चौथो चरणको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले सङ्कटा क्लबलाई पराजित गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को खेल मैदानमा भएको खेलमा विभागीय टोली आर्मीले सङ्कटालाई ५–१ को फराकिलो गोलअन्तरले पाखा लगाउँदै आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । जितसँगै आर्मी अङ्क तालिकामा १० अङ्क जोड्दै लिगको शीर्ष स्थानमा उक्लेको छ । आर्मीले यसअघि खेलेको तीन खेलमा दुईमा जित र एकमा बराबरीको नतिजा ल्याएको थियो ।

त्यस्तै लिगमा सङ्कटाको भने यो पहिलो हार हो । सङ्कटाले यसअघि खेलेको तीन खेलमा लगातार जित हासिल गरेको थियो । सङ्कटाको ९ अङ्क छ । खेलको मध्यान्तरसम्म २–१ ले अगाडि रहेको आर्मीले खेलको मध्यान्तर पछि तीन गोल थप्यो । त्यस्तै खेलमा पहिलो अग्रता भने सङ्कटाले लिएको थियो । खेलको नवौँ मिनेटमा सङ्कटाका विदेशी खेलाडी एलोन म्याक्सवेलले गोल गरेका थिए ।

सङ्कटाको १–० को अग्रता लामो समयसम्म टिक्न सकेन । मध्यान्तर अघि १७औँ मिनेटमा आर्मीका खेलाडी टेकबहादुर बुढाथोकीले एक गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए । त्यस्तै खेलको २९औँ मिनेटमा आर्मीका कप्तान भरत खवासले एक गोल गरे । खेलको ६३ औँ मिनेटमा आर्मीका सन्तोष तामाङले फ्रिकिकमा गोल गरे भने सन्तोषले गोल गरेको दुई मिनेट पनि बित्न नपाउँदै आर्मीका टेकबहादुरले अर्को गोल गरे । त्यसैगरी खेलको ७५ औँ मिनेटमा आर्मीका दीनेश हेन्जनले थप एक गोल गरेपछि आर्मीले सङ्कटामाथि सहजै ५–१ को जित निकाल्यो ।

प्रकाशित मिति : १० मंसिर २०७५, सोमबार १६:००