७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

धितोपत्र बजार पूँजीकरण ३३ खर्ब १४ अर्ब, बैंक तथा बीमा कम्पनीको हिस्सा ५७.७ प्रतिशत


२२ चैत, काठमाडाैँ ।  धितोपत्र बजार पुँजीकरण ३३ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ८ महिनासम्ममा धितोपत्र बजार पुँजीकरण ३३ खर्ब १४ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । गत आवको फागुन महिनासम्म धितोपत्र बजार पुँजीकरण २८ खर्ब २३ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो ।

साथै २०८० फागुन मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत कम्पनीहरूको संख्या २७१ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत्कम्पनी, २१ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । २०७९ फागुनमा सूचीकृत कम्पनीहरूको संख्या २४५ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५७.७ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १४.९ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.४ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ६.३ प्रतिशत, होटेलको हिस्सा २.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १०.२ प्रतिशत रहेको छ ।फागुन मसान्तसम्म नेप्सेमा सूचीकृत ८ अर्ब २२ करोड सेयरको चुक्तामूल्य ८ खर्ब १४ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार १७:०१