७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

८ महिनामा भित्रियो ९ खर्ब ६१ अर्ब रेमिट्यान्स, श्रम स्वीकृती लिनेको संख्या २ लाख बढी


२२ चैत, काठमाडाैँ । चालु आथिक वर्षको ८ महिनाको अवधिमा ९ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २१ प्रतिशतले बढेको छ । गत वर्षको ८ महिनाको अवधिमा ७ अर्ब ९४ अर्ब ३२ करोड रेमिट्यान्स भित्रिएको थियो ।

नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती अनुसार चालु आवमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले वृद्धि भई ७ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो । फागुन महिनामा मात्रै १ खर्ब २२ अर्ब रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ६ हजार ९३२ जना र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ८४ हजार २७ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख ५१ हजार ७६१ जना र १ लाख ९२ हजार ५५९ रहेको थियो । त्यस्तै समीक्षा अवधिमा खुद ट्रान्सफर १८.९ प्रतिशतले वृद्धि भई १० खर्ब ४१ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २३.९ प्रतिशतले बढेको थियो ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार १६:५२