९ बैशाख २०८१, आईतवार | Sun Apr 21 2024

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले चैत २२ गते विश्वासको मत लिने


२० चैत, तुलसीपुर । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले यही चैत २२ गते विश्वासको मत लिने भएका छन् । प्रदेश सरकारका प्रवक्ता तथा गृहन्मन्त्री सन्तोषकुमार पाण्डेयका अनुसार बिहीबार अपराह्न ४ बजे विश्वासको मत लिने तयारी छ । त्यसका लागि प्रदेशसभा बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस पठाएको उनले जानकारी दिए ।

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै गत फागुन २३ गते नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । लुम्बिनी प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २९, नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका १० (सभामुख बाहेक), राप्रपा र नागरिक उन्मुक्तिका चार/चारजना सदस्य छन् ।

राप्रपाका जानकीलाल यादव भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बित भएका छन् । जनता समाजवादी, लोकतान्त्रिक समाजवादी र जनमत पार्टीका तीन/तीनजना प्रदेशसभा सदस्य छन् भने नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका एक/एकजना प्रदेशसभा सदस्य छन् । साथै एक जना स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलवार १५:४९