८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

बसाइँसराइले उजाडिएको गाउँमा रमाइरहेका पौडेल दम्पती


२५ फागुन, ढोरपाटन (बागलुङ) । वरपरका छरछिमेकी बसाइँसराइ गरेर कोही चितवन, कोही गैँडाकोट त कोही पोखरा गएका छन् । दिनप्रति दिन गाउँ सुनसान बन्दै छ । गाउँमा भएका युवा दिनहुँ विदेश पलायन भइरहेका छन् । घरमा भएका छोरोछोरी पनि पढाइका लागि बजार झर्न थालेका छन् । सेवासुविधाको खोजीमा गाउँले तराई झर्न थालेपछि बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवा गाउँ सुनसान बन्न थालेको छ ।

सुनसान बन्दै गएको गाउँमा स्थानीय बाबुराम पौडेल र उनकी श्रीमती मायादेवी पौडेल भने व्यावसायिक मौरीपालनमा रमाई राखेका छन् ।  बसाइँसराइले उजाड बन्न थालेको गाउँमा व्यावसायिक बन्दै गएका पौडेल दम्पतीलाई बसाइँसराइ गर्नुभन्दा गाउँमै उद्यमी बन्नु ठिक लाग्यो । अहिले उनीहरु धेरैका लागि प्रेरणाको स्रोत बनेका छन् ।

पौडेलले तराईमा घडेरीसमेत जोडेका छन् । गाउँमा जस्तो स्वच्छ हावापानी र वातावरण नहुँने हुँदा बसाइँसराइ नगरेको बाबुरामले बताए । उनको घरको बार्दली, कौसी, छानो र पिँढीभरि मौरीका घार छन् । घारमा मौरीले रस बनाइरहेका छन् । आधुनिक प्रविधि अपनाएर मौरीपालनमा लागेका पौडेल दम्पतीले तरकारीसँगै सुन्तला खेती पनि गर्दै आएका छन् ।

बाबुराम आफैँले आधुनिक मौरीको घार बनाउने हुँदा हरेक वर्ष हजारौँको खाली र मौरीसहितका घार बिक्री हुने गरेको उनले बताए । हातमा सीप र जाँगरले गर्दा सुनसान गाउँमा बाबुराम सफल उद्यमीकारुपमा चिनिएका छन् ।

पौडेलले बारीमा दुई वटा हाइटेक टनेल बनाएर मौसमी तथा बेमौसमी तरकारीखेती गर्दै आएका छन् । पाँच वर्ष अगाडि लगाएका एक सय बोट सुन्तलाले पनि अहिले उत्पादन दिन थालेका बाबुरामले बताए । मौरीपालनलाई मुख्य पेसा बनाएको भन्दै लोकल कुखुरा, दूध, घ्युका लागि भैँसीसमेत पालन गरेको उनको भनाइ छ ।

गाउँमा थुप्रै छिमेकी धमाधम बसाइँसराइ गरे पनि यहाँ अवसर धेरै भएकाले गाउँ छोड्न नसकेको बाबुरामले बताए । दश वर्ष अगाडि साथीभाइको लहलहैमा मलेसिया पुगेर २२ महिना दुःख गरेको सुनाउँदै सङ्घर्ष गरे घरमै पनि प्रशस्त कमाइ गर्न सकिने उनको भनाइ छ ।

घरमा पहिले बाउबाजेको पालादेखि दुई/चार घार मौरी पाल्दै आएको बताउँदै बाबुरामले अहिले आधुनिक तरिकाले व्यावसायिकरुपमा लागिएको जानकारी दिए ।

“गाउँमा काठ जति पनि पाइन्छ, हातमा सीप भएकाले मौरीको घार आफैँ बनाउँछु । पहिले मुडे घारमा मौरी पाल्ने चलन थियो, अहिले सबै आधुनिक घारमा राखेका छौँ”, बाबुरामले भने, “विदेश २२ महिना बसेर आएपछि स्वदेशमै केही गरौँ भन्ने लागेर व्यावसायिक मौरीपालन सुरु गरको हुँ । अहिले प्रशस्त आम्दानी भइरहेको छ ।”

आफूले मौरीपालन सुरु गर्दा कुनै तालिम नलिएको बताउँदै बाबुरामले व्यवसाय सुरु गरेको धेरै वर्षपछि मौरी विकास केन्द्र गोदावरीबाट तालिम लिएको जानकारी दिए । झण्डै डेढ दशकदेखि मौरीपालन गर्दै आए पनि आठ वर्ष अगाडि मात्रै फर्म दर्ता गरेर व्यवसायलाई व्यवस्थित गरेको उनको भनाइ छ ।

पौडेलले हाल ४० घार मौरी पाल्नुभएको छ । गत वर्ष एक सय घार मौरी रहेकामा केही बिक्री गरेको र २० घार बचेका उनको भनाइ छ । पोहोर साल धेरै घार मौरी अपरिचित रोगले मर्दा झण्डै रू पाँच लाख नोक्सानी व्यहोर्नु परेको बाबुरामले बताए । पौडेल दम्पतीले मौरीपालनबाटै दुई छोरोछोरीलाई पोखरामा पढाइ राखेका छन् । छोरीले आइटी इञ्जिनियर र छोराले कम्प्युटर विज्ञान पढिरहेका छन् ।

पौडेलकी पत्नी मायादेवी विहान सबेरै उठेदेखि साँझसम्म मौरीको हेरचार र बारीमा रहेका सुन्तला, टनेलमा गोडमेल र पानी लगाउने काम गर्छिन् । उनीहरुले आफ्नो जग्गा कतै पनि बाँझो राखेका छैनन्। बारीमा बाँझो जमिनमा लम्सी र फलफूलका बिरुवा लगाएका छन् । जमिनलाई उपयोग गर्ने मान्यताले सबै ठाउँमा विभिन्न प्रजातिका वनस्पतिका बिरुवा लगाइएको मायादेवीले बताइन् । गत वर्ष ४० घार मौरी बेचेकामा यस वर्ष भने कम भएको उनको भनाइ छ ।

दुई सिजनमा मौरीको घारबाट मह निकाल्ने हुँदा आम्दानी पनि राम्रो हुने मायादेवीले बताइन् । उनीहरुले हरेक वर्ष दुई क्विन्टल मह बच्ने गरेका छन् । एक किलोलाई रू एक हजार पाँच सय देखि दुई हजारसम्ममा बिक्री हुँदा मेहनतको मूल्य पर्ने गरेको उनले सुनाए ।

महको माग धेरै हुने भएकाले बजारको अभाव नभएको मायादेवीले बताइन् । यस वर्षदेखि सुन्तला उत्पादन हुन थालेपछि पहिलो पटकमा रू ७० हजार बढीको बिक्री भएको उनले जानकारी दिइन् । तरकारीबाट पनि विस्तारै आम्दानी हुन थालेको भन्दै गाउँको माया र माटोप्रतिको सम्मानले गर्दा अन्त बसाइँ सर्न मनले नमान्ने उनले बताइन् ।

गाउँमा सामान्य कृषि गर्नेले राज्यबाट पाउने अनुदान सहजै प्राप्त गरिरहेका भन्दै आफूहरुले निरन्तर यही काम गर्दै आए पनि सहयोग पाउन नसकेको बाबुरामले दुखेसो पोखे । टाढाबाठाले मात्रै अनुदान पाउने तर वास्तविक किसानले नपाउने उनको भनाइ छ ।

“मलाई यहाँ भएको कुनै पनि बारी बाँझो राख्न मन लाग्दैन, गाउँमा हरेक दिन खेतीयोग्य जमिन बाँझो बन्दै गएका छन् । मकै, गहुँ खेती गर्दैनौँ”, मायादेवीले भनिन्, “फलफूल र तरकारीखेती तथा मौरीपालनलाई निरन्तरता दिएका छौँ । मौरीले बारीबाट रस लिन्छन् । मौरी, बोट बिरुवा र माटोसँग खेल्न निकै आनन्द लाग्छ ।”

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार १४:४७