१५ फाल्गुन २०८०, मंगलवार | Tue Feb 27 2024

खातामा ४१ हजार भएकाले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ भर्न पाउने


१ फागुन, काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्सले बुक विल्डिङ विधिबाट सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे छ । कम्पनीले बुक विल्डिङ विधिबाट सर्वसाधारणका लागि आईपीओ निष्कासनकाे अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले ९४ करोड ८८ लाख ११ हजार ९६८ रुपैयाँको ११ लाख ५५ हजार ९६० कित्ता सेयर निष्कासन गर्न माग गर्दै बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले योग्य संस्थागत लगानिकर्तालाई ४० प्रतिशत सेयर निष्कासन गरिसकेको छ । योग्य संस्थागत लगानीकर्तालाई सेयर निष्कासन गरेपछि सर्वसाधारणका लागि ६० प्रतिशत सेयर निष्कासन गर्न बोर्डमा अनुमतिका माग्दै आवेदन दिएको हो ।

योग्य संस्थागत लगानिकर्ताले बोल कबोल गर्दा कट अफ मूल्य प्रतिकित्ता ९१२ रुपैयाँ आएको थियो । उक्त मूल्यमा १० प्रतिशत रकम घटाएर सर्वसाधारणलाई आईपीओ बिक्री गर्नुपर्ने व्यवस्था रहेका कारण कम्पनीले प्रतिकित्ता ८२०.८० रुपैयाँमा सर्वसाधारणलाई आइपीओ निष्काशन गर्नेछ ।

बुक विल्डिङ विधिबाट निष्कासन हुने सेयरमा न्यूनतम ५० कित्ता आवेदन दिनुपर्ने भएकाले लगानीकर्तासँग सेयर भर्नका लागि न्यूनतम ४१ हजार ४० रुपैयाँ हुनुपर्ने छ । कम्पनीकाे आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेकाे छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलवार १६:१३