१६ फाल्गुन २०८०, बुधबार | Wed Feb 28 2024

नेपाल इन्स्योरेन्सको नाफा २३२ प्रतिशतले बढ्याे, प्रतिसेयर आम्दानी ६० रुपैयाँ माथि


२९ माघ, काठमाडाैँ । नेपाल इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले ४९ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २३२.३४ प्रतिशतले बढेको हो । गत वर्षको यसै अवधिमा इन्स्योरेन्सले १४ करोड ९७ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो ।

चालु आवको ६ महिनामा कम्पनीले १ अर्ब ८ करोड ४२ लाख ५२ हजार रुपैयाँ कुल आम्दानी गरेको छ । । जुन गत आवको साेही अवधिकाे तुलनामा १११.८२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा इन्स्योरेन्सले ५१ करोड १८ लाख ७५ हजार रुपैयाँ मात्र आम्दानी गरेको थियो । समीक्षा अवधिमा इन्स्योरेन्सले कर्जा तथा लगानीबाट ७१ करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको छ ।

पुस मसान्तसम्मा इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन पनि ५.९५ प्रतिशतले बढेर २९ करोड ६७ लाख रुपैयाँ छ । गत वर्षको यसै अवधिमा इन्स्योरेन्सको खुद बीमा शुल्क २८ करोड रुपैयाँ थियो । एक अर्ब ६४ करोड ४२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा २२ करोड ३२ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिसेयर आम्दनी ४० रुपैयाँ ६१ पैसाले बढेर ६० रुपैयाँ ६५ पैसा कायम रहेकाे छ भने प्रतिसेयर नेटवर्थ २०६ रुपैयाँ १४ पैसा छ ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार १३:२९