१६ फाल्गुन २०८०, बुधबार | Wed Feb 28 2024

हिमालयन रि इन्स्योरेन्सको नाफामा उछाल, प्रतिसेयर आम्दानी पनि बढ्यो


२९ माघ, काठमाडाैँ । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले ६० करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९९.७३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३० करोड १७ लाख रुपैयाँ नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको कुल आर्जित बीमाशुल्क १५४.६५ प्रतिशत बढेर १ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीकाे बीमाशुल्क ७८ करोड ३८ लाख रुपैयाँमा सीमित थियो । कम्पनीको कुल आम्दानी २ अर्ब ४६ करोड पुगेको छ । जुन अघिल्लो आवको तुलनामा ९२.८४ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ३ करोड ७१ लाख रुपैयाँ रहेको महाविपत्ती कोषको आकार बढेर ७ करोड ७० लाख रुपैयाँ पुगेको छ ।

१० अर्ब चुक्ता पूँजी रहेको कम्पनीको सेयर प्रिमियम ३ अर्ब १८ करोड रुपैयाँ, महाविपत्ती कोषमा ७ करोड ७० लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ६९ करोड २८ लाख रुपैयाँ रहेको छ। नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि २ रुपैयाँ ८२ पैसाले बढेर १२ रुपैयाँ ५ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ३० पैसा रहेको छ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार ०९:३३