१६ फाल्गुन २०८०, बुधबार | Wed Feb 28 2024

शत प्रतिशत हकप्रद सेयर निष्काशन गर्दै अरुण भ्याली हाइड्रोपावर


२९ माघ, काठमाडाैँ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले फागुन १७ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत अर्थात १ः१ हकप्रद सेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेकाे हाे ।

हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले माघ १५ गते बुकक्लोज गरेको थियो। यसकाे अर्थ माघ १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताले चैत ७ गतेसम्म आवेदन दिन सकिनेछ।

लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कम्पनीको केन्द्रिय कार्यालय, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सकिनेछ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७३ करोड ५९ लाख २५ हजार २०० रुपैयाँ पुग्नेछ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार ०९:१७