१६ फाल्गुन २०८०, बुधबार | Wed Feb 28 2024

शिवम् होल्डिङ्सले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटलसँग सम्झौता


१५ मंसिर, काठमाडाैं। शिवम् होल्डिङ्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएकाे छ ।  शिवम् सिमेन्ट्स लिमिटेडको करिब ८५ प्रतिशत लगानी रहेको उक्त कम्पनीले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी ५ अर्ब ८० करोड रूपैयाँको २० प्रतिशत बराबर हुने १०० रूपैयाँका दरको एक करोड १६ लाख कित्ता साधारण सेयरहरु सर्वसाधारणका लागि नेपाल धितोपत्र वोर्डको स्वीकृतिमा सार्वजनिक निष्काशन गर्ने प्रक्रिया अगाडि बढाएको हो ।

कम्पनीका सञ्चालक तथा अध्यक्ष शिवरतन शारदाको उपस्थितिमा कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडसँग सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धि सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार कम्पनीले सर्बसाधारणमा सेयर निष्कासन गरी बजारमा छरिएर रहेको स–साना पूँजीलाई संकलन गर्दै लगानी थप विस्तार गरी देशको अर्थतन्त्रमा योगदान पुर्‍याउँदै मुनाफा आर्जन गर्ने विश्वास लिएको छ ।

कम्पनीको अधिकृत तथा जारी पूँजी ५ अर्ब ८० करोडरुपैयाँमध्ये संस्थापकतर्फ ८० प्रतिशत अर्थात् ४ अर्ब ६४ करोड रुपैयाँ र सर्बसाधारणतर्फ १ अर्ब १६ करोड रुपैयाँ सेयरपूँजी छुट्याई प्रिमियम मूल्यमा निष्कासन गर्ने प्रक्रिया प्रारम्भ गरेको हो ।

कम्पनीका संस्थापकहरुमा शिवम् सिमेन्ट्स लिमिटेडको संस्थागत सेयर लगानी करिब ८५ प्रतिशत र अन्य १९ जना विभिन्न उद्योग, व्यापार र पेशा व्यवसायमा रहेका व्यक्तिहरुको व्यक्तिगत करिब १५ प्रतिशत लगानी रहेको छ ।

कम्पनीले आफ्नो सेयर रकम लगानी गरेको संस्थाबाट विगत २ वर्षदेखि मुनाफा समेत प्राप्त गरेको छ भने सेयर जारी गरी सर्बसाधारणबाट संकलन हुने प्रिमियम मूल्यसहितको रकम हाइड्रोपावर, बैंक तथा वित्तीय संस्था, टुरिजम क्षेत्र र इन्फाष्ट्रक्चरका परियोजना तथा अन्य क्षेत्रमा समेत लगानी विस्तार गर्ने योजना रहेको बताएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार १३:२५