१५ फाल्गुन २०८०, मंगलवार | Tue Feb 27 2024

कञ्चनपुर, ६ मङ्सिर । कृष्णपुर नगरपालिका– १ सुन्दरीफाँटाकी ५५ वर्षीय बुधनीदेवी चौधरी खेतबारीको कामबाट फुर्सदिलो भएपछि माटोका भकारी (डेंहरी) बनाउँदै आएका छन् । माटोका भकारी बनाउने कार्य पुस्तौंँदेखि गरिँदै आएको हो । खेतबाट भित्र्याएको अन्नबाली राख्नका लागि परम्परागत रुपमा डेंहरी बनाउँदै आएको उनले बताए ।

“चिम्टाइलो माटो, गहुँ, धानको भुषाको प्रयोग गरी बनाइएका भकारी वषौँंसम्म प्रयोगमा ल्याउन सकिन्छ” उहाँले भन्नुभयो, “भकारी बनाउने कार्य पछिल्लो पुस्ताले आत्मसात् नगर्दा हराउँदै जान थालेको छ ।” थारु समुदायका माटो र काठले बनेका परम्परागत मौलिक घरका ठाउँमा पक्की घर ठड्याइन थालेपछि माटोका भकारी बनाउने कार्यमा कमी आएको उहाँले बताए ।

“घरका बुढापाकाबाट भकारी बनाउन सिकेका हौंँ” उनले भने, “नयाँ पिँढी भकारी बनाउने सीप सिक्न तयार छैनन्, यस कार्यले थारु समुदायको रहनसहनसँगै संस्कृतिसँग जोडिएको भकारी बनाउने कार्य ओझेलमा पर्न थालेको छ ।”

भकारी बनाउनलाई प्रयोग हुने चिम्टाइलो माटो तालतलैया र वन क्षेत्रबाट ल्याउँदै आएकोमा वन संरक्षणका कारण माटो ल्याउन नदिने गरेकाले बनाउने काममा अवरोध हुँदै आएको थारु अगुवा मीनादेवी डगौरा बताउ छन् ।“परम्परागत घरमा डेंहरीले नै कोठा छुट्ट्याउने गरी राखिने गरेको थियो”, उनले भने, “परम्परागत घरको सट्टा आधुनिक पक्की घर बनाइन थालेपछि राख्ने ठाउँको अभावमा थारु समुदायको रहनसहनको अभिन्न अङ्गका रुपमा रहेका भकारी बनाउन छाड्दै गएका छन् ।”

“टिन, बाँस, निगालो र प्लास्टिकका भकारी सहजै बजारमा किन्न पाउन थालेपछि समेत भकारी बनाउने काममा यसको प्रभाव परेको छ”, परदेशी चौधरीले भने, “सहजरुपमा बजारमा भकारी खरिद गर्न पाइन थालेपछि माटोको जोहो किन गर्ने भन्ने भावनाले थारु संस्कृतिसँग जोडिएको भकारीलााई बिर्सदै जान थालेका छन् ।” भकारी थारु समुदायको संस्कृतिसँग मात्रै नभएर धार्मिक भावनासमेत जोडिएको उहाँको भनाइ रहेको छ । “यसको आफ्नै धार्मिक महत्व छ यो कुरा नयाँ पिँढीलाई बुझाउन आवश्यक छ”, उनले भने ।

भकारी खासगरी महिलाले बनाउने गर्दछन् । परम्परागत यस्ता भकारीमा गहुँ, धान, मकै, तोरी, केराउलगायतका अन्न राख्ने गरिन्छ ।“यसमा राखिने अन्न वर्षौँंसम्म राख्दासमेत रोग कीरा लाग्ने र बिग्रने डर हुँदैन”, धनबहादुर कुश्मिले भने, “ढिकीमा कुटेको चामल धेरै वर्षसम्म यसमा राख्दासमेत बिगँ्रदैन ।” उहाँका अनुसार हाल ग्रामीण क्षेत्रका अधिकांश घरमा बुढापाका महिलाले बनाएर राखेका माटाका भकारी केही घरमा लस्करै राखेको अझै पनि हेर्न सकिन्छ । धेरै थारु समुदायका घरमा त्यस्ता भकारी राख्ने क्रम हराउँदैसमेत गएको छ । भकारी(डेंहरी) धेरै प्रकारको हुने गरेको छ ।

जसमा डेंहरी, पटाहा डेंहरी, जवरा, चारकुने, गोल र कुठली रहेका छन् । पटाहा डेंहरी देवता रहने कोठाको पश्चिममा राखिने गरिएको छ । यसले भान्छा र डिहुरार (देउथान) छुट्ट्याउने गर्दछ । अन्य डेंहरीको तुलनामा यो ठूलो हुने गर्दछ । यस डेंहरीलाई कहिल्यै पनि खाली राख्नु नपर्ने र राखेमा अशुभ हुने विश्वास थारु समुदायमा रहेको छ । पटाहा डेंहरी फुटेमा, भत्किएमा यसमा राखिएको अन्न चेलीबेटीलाई दिने चलन रहेको थारु अगुवा हबल्दार चौधरीले बताए । उनका अनुसार पटाहा डेंहरीमा पाँच वटा हातको छाप र एउटा फलामको किला गाडेको हुन्छ ।

त्यो किलामा झोरर्या (झोलि) राखी त्यसमा गुरुवाले मन्त्रसहित दिएको अक्षता र धूप राखिएको हुन्छ । डेंहरी विशेष गरी लाम्चो चार कुने विभिन्न आकार र उचाइको बनाइने गरिन्छ । कुठली अरु डेंहरीको तुलनामा सानो हुन्छ । यसलाई पटाहा डेंहरीकै नजिक राखिन्छ । अन्यलाई आवश्यकताअनुसार घरका विभिन्न ठाउँमा राख्ने गरिन्छ । यसमा विशेष गरी दैनिक आवश्यक पर्ने नून, दाल, चामलसँगै अन्नको बीउलगायत राख्ने गरिन्छ ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार १३:३४