८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

यस कारण मुख्यमन्त्री रार्इको अमेरिका भ्रमण सुटुक्क होइन


२५ कात्तिक, काठमाडाैँ ।  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको थाइल्याण्डमा उपचार र अमेरिका भ्रमणलाई जबरजस्ती विवादमा पार्न खोजिएको छ । दुई दिन अघि पत्रकार कुटिएको भनिएको विषयलाई केही मिडिया र सामाजिक सञ्जालमा स्टाटस लेखेर मुख्यमन्त्री विरोधीहरूले आत्मसन्तुष्टि लिइरहेका छन । र, अहिले फेरी केही मिडियाले मुख्यमन्त्रीको अमेरिका भ्रमणलाई सुटुक्कको संज्ञा दिएका छन् । यी दुई विषयलाई हामीले नजिकबाट खोजीनिति गरेका छौं ।

लामो समयदेखि घाँटीको समस्याबाट पीडित राईको नेपालमा रोग पत्ता लगाउन नसकेपछि उनि कार्तिक १६ गते थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका थिए । उनको बैंककस्थित बुम्रुनग्राड इन्टरनेशनल हस्पिटलमा चेकजाँच भएको छ । उनको उपचारमा डाक्टरहरु इत्तिपोल, सिरिचाँइ र सुथेप संलग्न छन् । डाक्टरहरुको प्रारम्भिक रिपोर्ट अनुसार मुख्यमन्त्री राईको स्वास्थ्य अवस्था सामान्य रहेको छ । र, कार्तिक २६ गते मात्र पूर्ण विवरण आउने बताएका छन् । यो उपचारको सम्पूर्ण खर्च मुख्यमन्त्री राईको निजी रहनेछ जुन कुरा उनले सार्वजनिक रूपमै जानकारी गराएका छन । जबकी मुख्यमन्त्रीले सरकारी खर्चबाट पनि उपचार गराउने व्यवस्था रहेको छ ।

मुख्यमन्त्री राईको उपचारका लागि थाइल्याण्ड जान र निजी भ्रमणका लागि अमेरिका जान कार्तिकको पहिलो हप्ता प्रदेश मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको प्रदेश नं १ सरकारका प्रवक्ता हिक्मत कार्कीले जानकारी दिएका छन् । साथै मुख्यमन्त्रीले संघीय सरकारलाई जानकारी गराएर उपचार र अमेरिका गएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश समन्वय शाखाका प्रमुख लक्ष्मण मैनाली भन्छन्—यो मुख्यमन्त्रीको निजी भ्रमण हो, निजी भ्रमणमा संघले अनुमति दिइरहनुपर्दैन् । तर मुख्यमन्त्रीले भने प्रदेश क्याबिनेटबाट निर्णय तथा संघीय सरकारलाई जानकारी गराएर मात्र विदेश गएका हुन् ।

मुख्यमन्त्रीले प्रदेश क्याबिनेटबाट निर्णय तथा संघीय सरकारलाई जानकारी गराएर मात्र बाहिर जानु भएको हो, प्रवक्ता कार्की भन्छन् उहाँको यो भ्रमण कानुनसम्मत छ । मुख्यमन्त्रीले उपचार गराइरहेको अस्पतालबाट कार्तिक २६ गते मात्र स्वास्थ्य अवस्थाको पूर्ण विवरण आउने भएपछि राई अमेरिका गएका थिए । बीचमा जर्मनी ट्रान्जिट परेको थियो ।

मुख्यमन्त्री राई अमेरिका कुनै औपचारिक कार्यक्रमका लागि गएका होइनन्, यो उनको निजी एंव पारिवारिक भ्रमण मात्र हो । यसबीचमा पत्रकार लोकमणी राई कुटिएको भनिएको विषय हाँस्यास्पद ढंगले मुख्यमन्त्री राईसँग जोडिएको छ । कुटिएको भनिएका राईको फेसबुक स्टाटस हेर्दा पनि यो कुरा पुष्टि हुन्छ । जबकी उक्त विषयमा मुख्यमन्त्री राईलाई जोड्नु पर्ने कुनै ठाउँ नै छैन् । मुख्यमन्त्रीको निकट सहयोगीको सोल्टी भनेर यो विषयमा राईलाई जोड्न खोजिएको छ । जबकी मुख्यमन्त्री र उनका सहयोगीले नै पत्रकार राईले भनेका व्यक्ति चिनेका एंव नदेखेको बताएका छन ।

प्रकाशित मिति : २५ कार्तिक २०७५, आईतवार ०९:२७