१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

बिएस्सी–सिएसआइटीको प्रश्नपत्र बाहिरिएको विषय झुटोः त्रिवी, प्रहरी कारबाही पूर्वाग्रही


२५ कात्तिक, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयले डेढ महिना अघि ब्याचलर इन कम्प्युटर साइन्स (बिएस्सी–सिएसआइटी) विषयको प्रवेश परीक्षामा प्रश्नपत्र बाहिरिएको भन्ने विषय झुटो रहेको स्पष्ट पारेको छ । त्रिविले विज्ञप्ति मार्फत प्रश्नपत्र नबाहिरिएको स्पष्ट पारेको हो  ।

गत असोज ११ मा ताहाचलस्थित महेन्द्ररत्न क्याम्पसमा भएको परीक्षामा प्रश्नपत्र ‘आउट’ गरेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युृरो (सिआइबी)ले सोह्रखुट्टेस्थित अमृत साइन्स क्याम्पस (अस्कल)का अनेरास्वियुका विद्यार्थी नेता कमलराज जोशी र प्रवीण अधिकारीलाई पक्राउ गरेको थियो ।

त्रिविको विज्ञप्तिमा भनिएको छ, ‘सिआइबीलाई २१ असोजमा पत्राचार गर्दा ८ कात्तिकसम्म पनि सम्बन्धित विषयको प्रवेश परीक्षामा कुनै किसिमको प्रश्नपत्र आउट भएको प्रतिक्रिया प्राप्त भएको छैन । त्यसो हुँदा प्रश्नपत्र आउट भएको ठोस आधार र प्रमाण फेला पर्न सकेन ।’

अनेरास्ववियुका नेता कमलराज जोशी र त्रिविको विज्ञप्ति ।

त्रिविको विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालयबाट जारी विज्ञप्तिमा प्रश्नपत्र आउट नभएको ठोस प्रमाण सिआइबीले दिन नसकेको हुँदा परीक्षाफल प्रकाशित गरिएकोसमेत उल्लेख छ । ‘विनाठोस आधार र कारण लामो समयसम्म प्रवेश परीक्षाको नतिजा प्रकाशन नहुँदा विद्यार्थी अन्यत्र पलायन हुनुका साथै अध्ययन संस्थानको शैक्षिक क्यालेन्डरलाई समेत असर पर्न जाने हुँदा प्रवेशिका परीक्षाको नतिजा सार्वजनिक गरिएको छ,’ त्रिविले भनेको छ ।

प्रश्नपत्र नै अाउट नभएको विषयमा प्रहरीले प्रश्नपत्र अाउट गर्यो भनेर पक्राउ गरेर कारबाहीलार्इ पूर्वाग्रही बनाएको पुष्टि भएको छ । ठोस अाधार र प्रमाण बिनानै प्रहरीले पक्राउ गर्नु गलत देखिएको छ । त्रिविको विज्ञप्तिपछि अनेरास्ववियुका नेता कमलराज जोशीले दैनिकीसँग अाफूलार्इ संगठन भित्रै केही मन्छेले फसाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोलार्इ गलत रूपमा प्रयोग गर्न खोजेको बताए ।

उनले बिना अपराध प्रहरी र पत्रकार लगाएर अाफूलार्इ संगठन भित्रकै केही नेताले सिध्याउन खोजेपनि कुनै गल्ती नगरेकोले यस्ता हर्कतहरूबाट नडराउने र सत्यको पक्षमा दृढ रहने बताए । नेता जोशीले प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले नै पूर्वाग्रह प्रेरित भएर कारबाही गर्दा अाम जनतामा अविश्वास पैदा भएको बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०७५, आईतवार ०८:२१