१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

तुलाधरको निधनले देश र मानवअधिकारको आन्दोलनमा गम्भीर क्षतिः प्रधानमन्त्री अोली


१८ कात्तिक, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वामपन्थी नेता तथा पूर्वमन्त्री पद्मरत्न तुलाधारको निधनमा शोक व्यक्त गरेका छन ।
प्रधानमन्त्रीले तुलाधार पत्नी नीलशोभा तुलाधारलाई आइतबार शोक सन्देश पठाउँदै कठीन परिस्थितिदेखिका आफ्ना मित्रको निधनले मर्माहत भएको उल्लेख गरेका छन । प्रधानमन्त्रीले तानाशाहीविरुद्धको संघर्षका क्रममा तुलाधारसँग बिताएका क्षणहरुकोसमेत स्मरण गरेका छन ।

“उहाँले विभिन्न संघर्षमा निर्भिकतापूर्वक देश, जनता र लोकतन्त्रका पक्षमा गरेका अनवरत योगदान मेरो स्मृतिमा आइरहेका छन् । तिनलाई म अत्यन्त आदरपूर्वक स्मरण गरिरहेको छु,” शोक सन्देशमा भनिएको छ, “श्री पद्मरत्न तुलाधार एक देशभक्त, लोकतन्त्रवादी, सामाजिक न्याय तथा समानताका पक्षधर र देशमा शान्ति एवं समृद्धि प्राप्तीको संघर्षका अथक अगुवा र वास्तविक जनपक्षीय व्यक्ति हुनुहुन्छ ।”

प्रधानमन्त्रीले शान्ति र मानवअधिकारका अभियन्ताकोरुपमा समेत स्थापित तुलाधारको निधनले देश र मानवअधिकारको आन्दोलनमा गम्भीर क्षति पुगेको उल्लेख गरेका छन । प्रधानमन्त्रीले तुलाधारप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकूल परिवारजनमा समवेदना प्रकट गरेका छन । तुलाधारको ७८ वर्षको उमेरमा आइतबार काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०७५, आईतवार २०:४६