बालाजुको कुमारीस्थान टोल सुधार समिति अब आफ्नै भवनमा
६ असोज, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर १६ मा रहेको बालाजुको कुमारीस्थान टोल सुधार समिति अब आफ्नै भवनमा सरेको छ । शनिबार समितिको नवर्निमित भवनको बागमती प्रदेशका पूर्वमन्त्री समेत रहेका सो क्षेत्रका प्रदेशसभा सदस्य बसन्त मानन्धरले उद्घाटन गरे ।

मानन्धरकै पहलमा प्रदेश सरकार मार्फत ४३ लाख रूपैयाँ र जनसहभागिता १९ लाख रूपैयाँ गरी कुल ६३ लाख ९८ हजार रूपैयाँमा निर्माण गरिएको भवनको उद्घाटन एक भव्य समारोहकै बीचमा भयो । उक्तो भवनको उद्घाटन पश्चात मन्तव्य राख्दै पूर्वमन्त्री मानन्धरले कुमारीस्थान टोल सुधार समितिले नमुना काम गरेको बताए ।

पूर्वमन्त्री मानन्धरले समितिले गरेको काम राम्रो र नमुना भए पनि अझै राम्रो काम गर्दै जानुपर्ने बताए । उनले आफ्नो समूदायमा कोही बालबालिका विपन्नताका कारण पढ्नका लागि विद्यालय जान नसक्ने परिस्थिति रहेको भए त्यसको पहिचान गर्न समितिलाई आग्रह गरे । उनले त्यस्ता विद्यार्थी पहिचान भए स्थानीय विद्यालयहरूमै छात्रबृत्तिको व्यवस्था गरी उनीहरूका लागि पढ्ने व्यवस्था मिलाउन सकिने र आफूले पनि सहयोगी भूमिका खेल्ने बताए ।

सो अवसरमा अवसरमा समितिको सदस्य समेत रहेकी संविधानसभा सदस्य राज्यलक्ष्मी श्रेष्ठले कार्यक्रममा उपस्थिति भएका अतिथिका लागि स्वागत मन्तव्य राखेकी थिइन । सो अवसरमा काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का वडा सदस्य हर्क खातीले दिवंग्त वडा अध्यक्ष रिजालले जनाएका प्रतिवद्धता पूरा गर्न आफूहरू तयार रहेको बताए । उनले रिजालले अघि बढाएका सबै राम्रा काम निरन्तरता दिने बताउँदै संस्थागत रूपमा कही केही प्रतिवद्धता जनाएको र त्यो पूरा नभएको भए त्यसको कार्यान्वयनका लागि वडा कार्यालयमा निवेदनसहित आउन अनुरोध गरे ।

एसियाली विकास बैंकका निर्देशक कर्णबहादुर रानाभाटले समूदायको स्तरमा आफ्नै भवनसहितको उपक्भोता समिति तयार गरेर काम गर्नु निकै महत्वपूर्ण रहेको बताए । स्थानीय नवप्रतिफल सहकारीका अध्यक्ष सुदर्शन भण्डारीले उपभोक्ता समितिको आफ्नै अत्याधुनिक भवनसहितको कार्यालय भएको थोरै मध्येमा यो समिति रहेको बताए । कुमारीस्थान महिला समूहको अध्यक्ष लगायतले पनि सो कार्यक्रममा सम्बोधन गरेका थिए ।

२०५३ सालमा स्थापना भएको समितिका वर्तमान अध्यक्ष गोकर्णराज पाठकले समूदायलाई एकतावद्ध बनाउँदै सबैको हितमा हुनेगरी उपभोक्ता समितिले काम गर्ने बताए । उनले संस्थाको वार्षिक कार्ययोजना समेत प्रस्तुत गरे । सोही कार्यक्रमबाट संस्थाको नयाँ कार्ययोजनाहरू समेत स्वीकृत गरिएको समितिका सदस्य रहेका कार्यक्रम सञ्चालक बसन्त भेटुवालले जानकारी दिए । समितिका सचिव शिवराम गौतम डेंगु संक्रमणका कारण अस्पतालमा रहनुपरेको भन्दै उनको स्वास्थ्यलाभका लागि उपस्थित सबैले कामना गरेका थिए । कार्यक्रममा दुई नौलो प्रयोग गरिएको थियो । राष्ट्रिय गान बालबालिकाले गायका थिए भने उद्घाटनमा धिमेबाजा र नौमती बाजा बजाइएको थियो ।










प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार २३:५५