९ बैशाख २०८१, आईतवार | Sun Apr 21 2024

मधेसमा ‘मुटु’ छामिरहेका डा निश्चल


२८ भदौ, जनकपुरधाम । यही भदौ ५ देखि प्रादेशिक अस्पताल जनकपुरधाममा मुटुरोगको उपचार सेवा सुरु भयो । उक्त सेवा सुरु भएपछि अस्पतालका निर्देशक डा रामनरेश पण्डितले भन्नुभएको थियो, “जनशक्ति अभावले लामो समयदेखि मुटुको परीक्षण गर्ने इन्डोस्कोपी मेसिन थन्कइएकोमा शिक्षण अस्पताल महाराजगञ्जबाट चिकित्सक डा निश्चल साह आएपछि मुटुको उपचारसम्बन्धी सेवा सुरु भएको छ । अब अस्पतालमा आइतबारदेखि शुक्रबारसम्म ओपिडी सेवा सञ्चालन हुनेछ ।” डा पण्डितको भनाइमा लय मिलाउँदै डा साहले पनि भनेका थिए, “मुटुको सम्पूर्ण अवस्थाका विषयमा इसिजी तथा इन्डोस्कोपी गरेर जानकारी लिन सकिनेछ ।

अब गम्भीर प्रकृतिका उपचार (शल्यक्रिया) पनि अगामी दिनमा सुरु गर्नेछाँै । अहिले उपलब्ध स्रोतसाधनबाट गुणस्तरीय सेवा दिने गरी प्रादेशिक अस्पतालबाट सेवा सुरु गरेका छाँै ।” विसं २०१३ मा स्वतन्त्र नागरिक अधिकारकर्मी र धार्मिक व्यक्तिको पहलबाट स्थापित र विसं २०१८ मा सरकारी अनुदान र २०२४ सालमा १५ शय्याको अस्पताल (जानकी पब्लिक अस्पताल) बाट सेवा सुरु भएको प्रादेशिक अस्पतालमा करिब छ दशकपछि मुटुरोग उपचारको जिम्मा अहिले तीनै कान्छा डाक्टरमध्येका साहमा आइपरेको छ । धुलिखेल अस्पतालबाट सन् २०१५ मा एमबिबिएस र त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जबाट हालै मात्र मुटुरोगसम्बन्धी विषयमा विद्यावारिधि (डिएम) गर्नुभएका डा साह मुटुरोगमा डिएम गर्ने कान्छो पुस्ताका एक प्रतिनिधि छन् ।

ती कलिला डाक्टर साहले अहिले दैनिकजसो जनकपुर र यस क्षेत्रका ‘मुटुहरू’ छामिरहेका छन् । ‘मधेसका मुटु छाम्न आए’ सन् २०१५ मा एमबिबिएस पूरा भएदेखि नै डा साहले काठमाडौँमा रहेर धेरै मानिसका मुटु छामिसक्नुभएको छ । उनले पछिल्लो तीन वर्ष मुटुरोगमा विद्यावारिधि (डिएम) गर्ने क्रममा अध्ययनसँगै त्रिवि शिक्षण अस्पतालमा काठमाडौँका हजाराँै मानिसका मुटु जाँचे । काठमाडौँ र मधेसमा बस्ने मानिसका मुटु एउटै छन् कि फरक ? हामीले सोधेको प्रश्नमा मन्द मुस्कानसहित डा साहले भने, “मुटु त जहाँ बस्ने भए पनि एउटै त हो । तर भूगोल, खानपिन र जीवनशैलीअनुसार मुटुरोगको प्रकृति एउटै हुँदैन ।

हुन त काठमाडौँमा पनि मुटुमा समस्या महसुस भएपछि नै अस्पताल आउने हुन्, यहाँ त मुटुमा धेरै समस्या भएपछि आउँछन् । फरक त्यसैमा छ ।” अनि काठमाडौँ र मधेसमा मुटुरोगमा के फरक पाउनुभयो ? हाम्रो प्रश्न सकिन नपाउँदै उनले भने, “सहरमा धेरै मुटुरोग मोटोपनका कारण हुन्छन् । अव्यवस्थित जीवनशैलीले मुटुरोगीको सङ्ख्या धेरै बढाएको छ तर यहाँ मोटोपनसँगै जनचेतनाको अभाव, खानेकुरामा हेलचेक्र्याइँ, नुनिलो, चिल्लोपिरो, तारेको धेरै खाने कारणले मुटुरोगी बढिरहेका छन् । यहाँको सबैभन्दा ठूलो समस्या रोगले च्यापेपछि मात्रै अस्पताल धाउने र डाक्टर खोज्नेमा छ ।” डा साहले हाल प्रादेशिक अस्पालतामा दैनिक २५ देखि ३० जना मुटुरोगीको जाँच गरिरहे । त्यसक्रममा काठमाडौँबाट मधेस झर्दै गर्दा गरेको कल्पनाभन्दा वास्तविकता झन् विकराल रहेको उनको अनुभव छ ।

“मैले अपेक्षा गरेभन्दा बढी नै समस्या पाए । मुटुरोगी एकदमै बढी छन् । सुगरभन्दा बढी कोलेस्ट्रोल र प्रेसरको समस्या छ । मुटुको धमनीसँग जोडिएका समस्या भएका बिरामीको सङ्ख्या धेरै देख्छु । एक महिना पनि भएको छैन, करिब ६० जना बिरामीको त एनजियोग्राफी गर्नुपर्ने देखिएको छ”, उनले भने, “हृदयाघातको बिरामी त्यत्तिकै छन् । यो अवधिमा सात जना बिरामी त हृदयाघात भएर भर्ना गर्नुपरेको छ । त्यति धेरै बिरामी आउने टिचिङ अस्पतालको जत्तिकै सङ्ख्या हो यो । यसबाट म अचम्मित भएको छु ।” डा साह मधेस प्रदेशमा मुटुरोगको समस्या अत्यधिक हुनसक्ने र यो खोज तथा अनुसन्धानको विषय भएको बताए ।

यस अस्पतालमा भर्खरै यो सेवा सुरु भएकाले पपिन धेरैलाई जानकारी नभएको हुनसक्ने उनको आँकलन छ । साथै धेरैलाई सरकारी अस्पतालप्रतिको गलत बुझाइले पनि यहाँ आउनेको सङ्ख्या कम भएको हुनसक्ने उहाँको भनाइ छ । स्थायी छोडेर करार, काठमाडाँै छोडेर मधेस मुटुरोग विद्यावारिधि गरेको केही महिना मात्रै भए पनि साहले सन् २०१५ मा एमबिबिएस सकिएलगत्तै लोकसेवामार्फत मेडिकल अधिकृत भएर सेवा गर्ने अवसर पाए । त्यो जागिर सात महिनाभन्दा बढी टिकेन । जागिरेका रुपमा पहिलो पटक सिन्धुपाल्चोक जानुभएका उहाँले अपेक्षाअनुसार अनुकूल वातावरण नभएपछि स्थायी जागिर छोडेर करारकै जागिर रोजे ।

“मैले हासिल गरेको दक्षताको प्रयोग गर्न नपाएपछि र अरु काममा अल्झिनुपर्ने भएपछि किन टाँसिरहनु । जागिर पैसाका लागि मात्रै त गरिँदैन नि ! त्यसबेला काम गर्ने माहोल नै नमिलेकाले छोडे । फेरि लोकसेवामार्फत सेवा प्रवेश गर्ने सोच त छ तर अहिले गरिराखेकै काममा रमाइरहेको छ”, डा साहले भने । नेपालमा मुटुरोगमा विद्यावारिधि गरेका डाक्टरहरु औँलामा गन्न सकिने छन् । त्यसअर्थमा साहलाई आफूले रोजेका अस्पतालमा काम गर्ने अवसर प्राप्त हुने भए पनि जन्मस्थान मधेसलाई रोज्नुभयो । पछिल्लो समय बढिरहेको मुटुरोग समस्या पहिचान गर्ने र यहाँका मुटुलाई जोगाउन थोरै भए पनि योगदान गर्ने मनसुवाका साथ आफू मधेस आएको साहको स्पष्टोक्ति छ ।

“सरकारी छात्रवृत्तिमा विद्यावारिधि गरेको हुँ । जसअनुसार दुई वर्ष अनिवार्य सेवा गर्नुपर्छ । तर देशभरि मुटुरोगमा डिएम गरेका ४०÷५० जना डाक्टर होलान् । मैले शिक्षादिक्षा काठमाडौँमै लिए पनि मधेस मेरो जन्मक्षेत्र भएकाले यहाँका नागरिकको सेवा गर्न पाउनु मेरो सौभाग्य पनि हो”, हँसिलो मुद्रामा उहाँले भन्नुभयो । मधेस रोज्नुको अरु कारणमध्ये डिएम अध्ययन सुरु गरेको केही दिन मै त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) अन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा डा रत्नमणि गजुरेलले ठट्टामै भनेको एउटा भनाइ पनि एक भएको साहको भनाइ छ ।

“पढाइ सुरु गरेको केही दिनमै आदरणीय गुरु प्रा डा रत्नमणि (त्यसबेला विभागीय प्रमुख) ले जिस्क्याएर साह र यादवमा त हृदयाघात धेरै हुन्छ, तिमीहरु बच्नु है भन्नुभयो । काम गर्दै जाँदा तीन वर्षमा ४० वर्षमुनिका युवामा बढी समस्या भएको पाएँ । त्यसमा पनि मधेसमा धेरै समस्या देखेपछि यही क्षेत्रमा आएर सेवा गर्ने अठोट लिएको हुँ”, साहले भन्नुभयो । समस्या के छ त ? साहको भनाइमा सामान्यतया नेपालमा मुटुरोग पहिचान गर्न कठिन छ । धेरैलाई त मुटुरोग के हो र यसका लक्षण के हुन् भन्ने चेतनासमेत छैन ।

प्रादेशिक अस्पतालको बहिरङ सेवा (ओपिडी) लिन दैनिक करिब ३० जना मुटुरोगका बिरामीमा आउने र त्यसमध्ये धेरैमा मुटुरोगले च्यापिसकेको तथा बाथमुटुबाट पीडित भएको देखिएको उहाँले बताउनुभयो । “एउटा बिरामीमा त रक्त प्रवाह हुने नली स्वाभाविक थिएनन् तर पनि पहिलो पटक मुटुरोगबारे जाँच गराउन आउनुभएको थियो । मुटुको चाल छिटो हुने, सास फेर्न गाह्रो हुने वा छिटोछिटो श्वास फेर्ने, कोलेस्ट्रोल र प्रेसर त यहाँका साझा समस्या हुन् । “खानपिनका कारण धमनीका भल्भ अति नै साँघुरो भएको अवस्थामा मुटुको चाल छिटो हुने, श्वास फेर्न गाह्रो हुने वा छिटोछिटो श्वास फेर्ने, दैनिक क्रियाकलापमा समस्या देखापर्ने, चाँडै थाक्ने, छाती दुख्ने, बेहोस हुने, जीउ सुन्निने समस्या मुटुसम्बन्धी समस्याका लक्षण हुन्, समयमा उपचार नभएमा ‘हर्ट फेलर’ हुनसक्छ । त्यसैले सचेत रहनुपर्ने हुन्छ”, डा साहले भन्नुभयो ।

अस्पतालमा गुणस्तरीय सेवा र गाउँगाउँमा सचेतनाका लक्ष्य अहिले प्रादेशिक अस्पतालमा डा साह एक्लै मुटुरोग विशेषज्ञ हुनुहुन्छ । ओपिडी र इको सेवा दिन सकिए पनि जनशक्तिको अभावमा अन्य सेवा सुरु गर्न नसकिएको उहाँले बताउनुभयो । जनशक्ति नियुक्तिका लागि पहल सुरु भइसकेकाले निकट भविष्यमा प्रविधियुक्त ल्याव र अरु सेवा पनि विस्तार हुने डा साहको विश्वास छ । “मुटुरोगको गुणस्तरीय उपचार सेवा दिने कुरा त छँदैछ । त्यसका साथसाथै समस्या निवारणका लागि जनचेतना फैलाउन तथा मुटुरोगसम्बन्धी समुदायमा आधारित कार्यक्रम सञ्चालन गर्न जरुरी छ ।

त्यसबाहेक स्वस्थकर खाना, नियमित व्यायाम, तनावमुक्त दैनिकी र मुटुको समयमै परीक्षण पनि मुटुरोग लाग्नबाट जोगिने उपाय हुन् भन्ने जानकारी दिनुछ”, उहाँले भन्नुभयो । डा साहले प्रदेशका आठै जिल्लामा अरु सरोकारवाला सङ्घ संस्थासँग समन्वय गरी मुटुरोगसम्बन्धी सचेतना अभिवृद्धितर्फ लाग्ने योजना रहेको सुनाउनुभयो । त्यसको सुरुआत आगामी असोज १२ गते हुने विश्व मुटु दिवसका दिन जनकपुरमा बृहत् स्वास्थ्य शिविरको आयोजना गरी शुभारम्भ गर्ने डा साहले जानकारी दिनुभयो । “उपचारका लागि सेवाको सुनिश्चितता गर्दै प्रादेशिक अस्पताललाई मुटुरोगको रेफरल अस्पतालका रुपमा विकास गर्न लाग्नु अपरिहार्य भइसकेको छ । नागरिक चेतनाका लागि गाउँगाउँमा सन्देश पुर्‍याउनु पनि आजको आवश्यकता हो, किनकी मुटुरोग परीक्षणको दायरामा पनि त ल्याउनुछ । यसमा सबैको सहयोग रहने अपेक्षा गरेको छु”, राससमार्फत साहले आग्रह गर्नुभयो ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार १६:४८