१६ आश्विन २०८०, मंगलवार | Tue Oct 3 2023

भरतपुर भ्रमण वर्षमा दियालो बङ्गला खुल्ला गर्न आग्रह


२७ भदौ, चितवन । ऐतिहासिक महत्वको यहाँको दियालो बङ्गला क्षेत्र भरतपुर भ्रमण वर्षमा खुल्ला गर्न आग्रह गरिएको छ । भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्षका रुपमा मनाउने र सोही अवसरमा विसं २०२६ मा राजाका लागि निर्माण गरिएको बङ्गाला सर्वसाधरणका लागि खुला गर्न आग्रह गरिएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले नेपाल ट्रष्टको कार्यालयलाई पत्र लेखी भरतपुर भ्रमण वर्षको अवसरमा यहाँ आउने पर्यटकका लागि खुल्ला गरिदिन आग्रह गरेको हो । महानगर प्रमुख रेनु दाहालले ट्रष्टको कार्यालयलाई पत्राचार गरिएको बताउँदै मौखिकरुपमा भएका कुराकानी सकारात्मक रहेको बताए ।

ट्रष्टसँग यस विषयमा कुराकानी भइरहेको उहाँले बताउनुभयो । नेपाल ट्रष्टको कार्यालय प्रधानमन्त्री कार्यालयअन्तर्गत पर्दछ । प्रमुख दाहालले ट्रष्ट स्वयम् वा सञ्चालनको जिम्मा महानगरपालिकालाई दिएर जुन विधिबाट सञ्चालन गर्दा पनि हुने बताए । उनले भने, “भ्रमण वर्षमा दियालो बङ्गलाभित्रको दरबार क्षेत्र पर्यटकका लागि खुल्ला हुनेमा म विश्वस्त छु ।” स्वदेशी र विदेशी पर्यटक भित्र्याउने गरी महानगरले विभिन्न गतिविधि अघि बढाएको छ । नेपाल ट्रष्टको कार्यालयका सहसचिव एबं प्रवक्ता दीपकराज नेपालले महानगरको पत्र प्राप्त भएसँगै छलफल अघि वढेको बताए । दरबार निकै पुरानो भएकाले एकैसाथ धेरै मानिस प्रबेश गर्दा जोखिमको अवस्था अध्ययन गरेर खुल्ला गर्न ट्रष्टको कार्यालय सकारात्मक रहेको उनको भनाइ छ ।

कार्यालयले चालु आर्थिक वर्षमा दरबारलाई ‘रेट्रोफिटिङ्’का लागि बजेटसमेत बिनियोजन गरिसकेको छ । नेपाली सेनाको विपद् व्यवस्थापन गण रसौलीको गुल्मले दरबार क्षेत्रलाई सुरक्षा दिएको छ । दियालो बङ्गला क्षेत्र देवघाट प्रवेशद्वारमा छ । ऐतिहासिकरूपले निकै महत्वपूर्ण मानिएको दरबार यतिबेला प्रयोगविहीन भएकाले ओझेलमा छ । विसं २०२६ मा निर्माण भएको सो बङ्गला राजा र राजपरिवारका सदस्यले काठमाडौँको कोलाहाल छल्न आउने मुख्य गन्तव्यमध्येमा थियो । विसं २०४६ देखि कार्यालय सहयोगीका रुपमा काम गर्दै आएका देवीबहादुर कार्की राजपरिवारको रमाउने ठाउँ दियालो बङ्गला भएको बताए ।

तत्कालीन समयमा राजा आइरहने भएकाले दियालो बङ्गला झकिझकाउ हुने गथ्र्याे । राजा आएको बेला एक महिना बराबरको तलब बक्सिस हुने भएकाले पनि कर्मचारी फुरुङ्ग हुने गर्दथे । राजा महेन्द्रको निधन पनि यही दरबारमा भएको र पवित्र तीर्थस्थल देवघाटको मुख्य प्रवेशद्वार भएकाले दरबारको महत्व धेरै छ । पूर्वराजपरिवारको सम्पत्तिको संरक्षण हाल नेपाल ट्रष्टले गरिरहेको छ । कार्कीका अनुसार हाल पाँचजना कार्यालय सहयोगीले बंगलाको रेखदेख गरिरहेका छन् । दरबारभित्र पहिलो तलामा ठूलो बैठक कक्ष छ । जसको भित्तामा राजाहरु महेन्द्र र वीरेन्द्रको तस्बिर देख्न सकिन्छ । भ¥याङमा २०२६ सालमा राजा महेन्द्रले सिकार गरी मारेको घडियाल गोही सजाएर राखिएको छ । भित्तामा बाघको टाउको राखिएको छ ।

दरबारमा पाँचवटा खोपी (बेडरुम) छन् । कार्कीका अनुसार १ नम्बरको खोपी मुमा रत्नराज्यको हो भने २ नम्बरको राजा र ३ नम्बरको रानी तथा ४ र ५ नम्बरको खोपी राजपरिवारका अन्य सदस्यका हुन् । सबै खोपीमा भित्रै शौचालय पनि छ । राजपरिवारले प्रयोग गरेका सामग्री अहिले पनि जस्ताको त्यस्तै राखिएको छ । दरबारको छेउमा दरबारका महिला सुसारेका लागि ‘नानीगञ्ज’ छ भने सँगै राजाको सुरक्षा गार्डका लागि एडिसी क्वार्टर पनि छ । साथै सो क्षेत्रमा ग्यारेज र त्यसको छेउमा स्वीमिङ पुल पनि छ ।

ऐतिहासिक सुन्दर ठाउँ भएर पनि यो सर्वसाधारणको पहुँचभन्दा बाहिर छ । कूल ५७ बिघा १३ कट्ठा सात धुरमा क्षेत्रफलमा फैलिएको यो ठाउँ शान्त र रमणीय पनि छ । बङ्गलाको पश्चिमतर्फ नारायणी नदीले पनि दरबारक्षेत्रको सौन्दर्य बढाएको छ । दरबार परिसरमा रहेको बगैंँचा अहिले पनि जस्ताको जस्तै छ । इकाइमा कार्यरत अर्का कार्यालय सहयोगी दानबहादुर ढकालले जाडो महिनामा राजपरिवारले यही दरबारमा धेरै समय बिताउने गरेको स्मरण गर्नुभयो । दरबार क्षेत्रलाई विगतको जस्तै रहने गरी सरसफाइ र सुरक्षामा ध्यान दिइएको छ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार १६:४५

UniversityCollege.com