७ आश्विन २०८०, आईतवार | Sun Sep 24 2023

सिटिजन लाइफको आईपीओ बाँडफाँड मिति तय, कतिले पाउछन् सेयर ?

२६ भदाै, काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सकाे आईपीओ बाँडफाँडकाे मिति तय भएकाे छ । कम्पनीकाे आईपीओ भदौ २८ गते बिहीबार बाँडफाँड गर्ने तयारी रहेकाे बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले जनाएकाे छ । कम्पनीकाे प्रि-अलोटमेन्ट भदौ २५ गते सम्पन्न भएको छ ।

कम्पनीको आईपीओमा १५ लाख १० हजार ६९३ जना आवेदकले १ करोड ६७ लाख ९० हजार १८० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा १.८६ गुणा बढी आवेदन हो ।

माग भन्दा बढी आवेदन परेका कारण कम्पनीकाे आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ । गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ९ लाख आवेदकले १०/१० कित्ताका दरले हात पार्नेछन् भने ६ लाख १४ हजार २८२ जनाको हात खालि हुने भएको छ ।

इन्स्योरेन्सले सर्वसाधारणलाई प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा शेयर निष्काशन गरेको थियो।

इन्स्योरेन्सले आफ्नो जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये ५ प्रतिशतले हुन आउने ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ६२ हजार ५०० कित्ता प्रतिशेयर १०० रुपैयाँमा इन्स्योरेन्सका कर्मचारीहरुका लागि निष्काशन गरिसकेको छ।

त्यस्तै, बाँकी १ अर्ब ६ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ८७ हजार ५०० कित्ता शेयरको १० प्रतिशत अर्थात ११ लाख २५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि र ५ लाख ६२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि निष्काशन गरि बाँडफाँड गरिसकेको छ। बाँकी रहेको ९० लाख कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको हो।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलवार ०९:३२

UniversityCollege.com