१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

नुवाकाेटकाे चिम्टेश्वर र ककनी लगाएत प्रदेश ३ का १० पर्यटकीय क्षेत्रमा हिल स्टेशन बन्दै


१४ कात्तिक, नुवाकाेट। नुवाकाेटकाे चिम्टेश्वर र ककनी सहित प्रदेश ३ का १० पर्यटकीय क्षेत्रमा हिल स्टेशन बने भएकाे छ ।  त्यसैगरी सिन्धुपाल्चोक र दोलखाको सीमास्थल मुडेमा आन्तरिक र बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने उदेश्यले हिल स्टेशन निर्माण हुने भएको छ । करिब ३ हजार मिटर उचाइमा रहेको मुडे काठमाडौं नजिकै हिमपात पर्ने पर्यटकीयस्थल हो ।

प्रदेश ३ सरकारले मुडेसहित प्रदेश ३ भित्रका विभिन्न १० स्टेशनमा यो वर्षदेखि हिल स्टेशन निर्माण गरी आन्तरिक र बाह्य पर्यटकहरुलाई आकर्षित गर्न यस्तो योजना ल्याएको हो । नेपालको पर्यटकीय स्थललाई प्रचार प्रसार गर्ने र त्यसमार्फत आर्थिक उपार्जन गर्नै उदेश्यले प्रदेश ३ सरकारले नेपालमा नै पहिलो पटक पहाडी क्षेत्रहरुमा हिल स्टेशन निर्माण गर्न लागेको छ । प्रदेश ३ सरकारको गौरवको योजनाको रुपमा पहाडी क्षेत्रका हिल स्टेशन निर्माण गर्न सुरु गरेको हो ।

प्रदेश सरकारको उद्योग,पर्यटन, वन तथा वातवरण मन्त्रालयले सिन्धुपाल्चोक र दोलखाको सीमा मुडेलगायत प्रदेश ३ का १० स्थानमा पर्यटकहरुलाई आकर्षण गर्नका लागि हिल स्टेशन निर्माण गर्न लागेको प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातवरण मन्त्री अरुण नेपालले जानकारी दिए ।

मुडे बाहेक जिरी, सोम्दाङग, रुबी भ्याली, चित्लाङग, कुलेखानी, शिवालय, सिन्धुलीगढी, चिम्टेश्वर र ककनीलाई हिल स्टेशनको रुपमा विकास गर्न चालु आर्थिक वर्षमा मन्त्रालयबाट बजेट विनीयोजन गरेको मन्त्री नेपालले जानकारी दिए । अन्य विकसित मुलकहरुका पहाडी क्षेत्रमा यस्तो हिल स्टेशन पर्याप्त निर्माण भएको र त्यसमार्फत आन्तरिक र बाह्य पयर्टकहरुमार्फत आर्थिक उन्नती भएको बताउँदै मन्त्री नेपालले भने-‘नेपालमा पहिलो पटक प्रदेश ३ सरकारले यो योजना ल्याएको छ ।’

हिल स्टेशनमार्फत हिमाली क्षेत्रको अवलोकन, हिउँ खेल्न, निजी क्षेत्रलाई सहभागिता गराएर रिसोर्ट सञ्चालन गर्नै लगायतका गतिविधि हुने मन्त्री नेपालको भनाइ छ । दोलखाको पयर्टकीय एवम धार्मिक स्थल कालिञ्चोक, शैलुङ, दोलखा भिमेश्वर,जिरीलगायतका पयर्टकीय स्थलको मुख्य प्रवेशद्धार मुडे नै भएकाले मुडमा नै हिल स्टेशन निर्माण सुरुवात गरिएको मन्त्री नेपालले बताए ।

के के निर्माण हुने छ हिल स्टेशनमा

हिल स्टेशन मल्टीप्रपोज हुने गरी निर्माण गर्नका लागि प्रदेश ३ को पर्यटन मन्त्रालयले डिजाइन समेत तयार पारेर कार्य समेत प्रारम्भ गरिसकेको छ । हिल स्टेशनमा आर्कषक बगैचा, भ्यु टावर,कोशेली घर, सामुदायिक लज, मनोरञ्जन घर, निजी रिसोर्ट लगायतका भौतिक संरचना निर्माण गरिने मन्त्रालयका वन अधिकृत नवराज पुडासैनीले जानकारी दिए । निजी रिसोर्ट नभएका स्थान र सञ्चालन गर्न नसकिने स्थानमा होमस्टेसमेत निर्माण गरिने पुडासैनीले बताए ।

प्रकाशित मिति : १४ कार्तिक २०७५, बुधबार १६:५३