८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

श्रममन्त्री विष्टको सफलता, रोजगारीका लागि मलेसिया जने श्रमिकले कुनै पनि शुल्क तिर्नुनपर्ने


१२ कात्तिक, काठमाडाैँ । नेपाल सरकार र मलेसिया सरकारबीच नेपाली कामदार लैजाने विषयमा बहुप्रतिक्षित श्रम समझदारीमा हस्ताक्षर भएको छ । काठमाडाैँको होटल हायातमा अायोजित कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र नेपाल भ्रमणमा रहेका मलेसियाका मानव संशाधनमन्त्री एम कुलेसागरनले सोमबार समझदारी पत्रमा हस्ताक्षर गरे ।

नेपाल र मलेसियाबीच भएको समझदारीअनुसार नेपाली श्रमिक कुनै पनि शुल्क नतिरी अब रोजगारीका लागि मलेसिया जान पाउनेछन् । सम्झाैतापछि पत्रकारहरूसँग मन्त्री विष्टले जानकारी दिए अनुसार कामदारकाे हवाई टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण, सुरक्षा जाँच लगायत खर्च सम्बन्धित रोजगारदाताले नै व्यहोर्नेछन् । उनले कामदारलाई लेभी पनि नलाग्ने बताए । मन्त्री विष्टले अब कामदारको तलब प्रत्येक महिनाको ७ गतेभित्र बैंक खातामार्फत भुक्तानी गर्नुपर्नेछ र मलेसिया सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम नहुने गरी तलब, भत्ता एवं सुविधा पाउने बताए ।

समझदारी अनुसार रोजगारदाताले कामदारका लागि वासथानका साथै व्यवसायजन्य स्वास्थ्य र सुरक्षाको प्रवन्ध गर्नुपर्ने मन्त्री विष्टको भनाइ छ । उनले कामदारका परिवारका निकटतम समस्य (बाबु, आमा, श्रीमान वा श्रीमती, छोरा वा छोरी) को मृत्यु भएमा १५ दिनका लागि नेपाल आउन पाउने व्यवस्था समेत मिलाइएको बताए । रोजगारीका क्रममा कामदारको अंगभंग वा मृत्यु भएमा रोजगारदाताले नेपाली दूताबासलाई जानकारी गराउनुपर्नेछ भने मृत्यु भएमा शव नेपाल पठाउने जिम्मेवारी सम्बन्धित रोजगारदाताको हुने गरी व्यवस्था गरिएको छ ।

समझदारी कार्यान्वयनमा नेपाल इमान्दार रहेको भन्दै मन्त्री विष्टले मलेसियाबाट पनि समझदारी कार्यान्वयनका लागि उस्तै अपेक्षा गरेको बताए । समझदारीमा हस्ताक्षरपछि मन्त्री विष्ट निकै प्रफुलित मुद्रामा देखिएका थिए । कार्यक्रममा मलेसियाली मन्त्री कुलेसागरनले नेपालसँग श्रम समझदारी गर्न पाउँदा निकै खुशी लागेको बताए । उनले समाझदारी पत्रमा उल्लेख भएको विषय कार्यान्वयनमा इमान्दारिता देखाउने प्रतिवद्धता समेत व्यक्ग गरे ।

प्रकाशित मिति : १२ कार्तिक २०७५, सोमबार १५:०९