७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कक्षा ११ र १२ को परीक्षा केन्द्र निर्धारण, प्रश्नपत्र छपाइ शुरु


३० फागुन, काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको छ । परीक्षाका लागि देशभर एक हजार ४९ केन्द्र निर्धारण गरेको बोर्डका प्रवक्ता तथा उपनियन्त्रक जयन्ती सत्यालले जानकारी दिइन । बोर्डले गत वर्ष ९९२ वटा परीक्षा केन्द्र निर्धारण गरेकामा यस वर्ष भने ५७ वटा परीक्षा केन्द्र थप गरेको छ ।

आगामी वैशाख १४ गतेदेखि शुरु हुने कक्षा १२ को परीक्षा ३० गते सम्पन्न हुनेछ भने वैशाख ३१ गतेदेखि कक्षा ११ को परीक्षा शुरु हुनेछ । परीक्षामा देशभरबाट नौ लाखभन्दा बढी विद्यार्थीको सहभागिता रहने बोर्डले जानकारी दिएको छ ।

त्यसैगरी, बोर्डले मंगलबारदेखि परीक्षाको प्रश्नपत्र छपाइ शुरु गरेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा गोप्य प्रेसमा कक्षा ११ र १२ को प्रश्नपत्र छपाइ शुरु भएको बोर्डकी प्रवक्ता सत्यालले जानकारी दिइन ।

प्रकाशित मिति : ३० फाल्गुन २०७४, बुधबार ११:०२