१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

मुद्रास्फीतिमा सामान्य सुधार, सबैभन्दा बढी महँगी काठमाडौँ उपत्यकामा


२६ जेठ, काठमाडाैं । मुलुकमा मुद्रास्फीतिको अवस्थामा सामान्य सुधार भएपनि तराई र हिमाली जिल्लाको तुलनामा पहाडी क्षेत्र र काठमाडौँ उपत्यकाभित्रका जिल्लामा मूल्यवृद्धि बढी देखिएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार वैशाखमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशत रहेको छ । अघिल्लो महिना चैतमा यस्तो मुद्रास्फीति ७.७६ प्रतिशत थियो। अघिल्लो वर्षको वैशाखमा भने यस्तो मुद्रास्फीति ७.८७ प्रतिशत रहेको थियो।

समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ५.५४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८९ प्रतिशत रहेको छ । समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत मरमसला उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक २६.६१ प्रतिशत, रेस्टुरेन्ट तथा होटेलको १४.८७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.६९ प्रतिशत, दुग्ध पदार्थ तथा अन्डाको १०.४१ प्रतिशत र सूर्तीजन्य पदार्थको ८.४९ प्रतिशतले बढेको छ।

गैरखाद्य तथा सेवा समूह अन्तर्गत मनोरञ्जन तथा संस्कृति उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १५.७५ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको १३.०८ प्रतिशत, शिक्षाको १०.५६ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ९.६५ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरुको ८.२७ प्रतिशतले बढेको छ।

समीक्षा महिनामा काठमाण्डौ उपत्यकामा ७.६८ प्रतिशत, तराईमा ७.१५ प्रतिशत, पहाडमा ७.५७ प्रतिशत र हिमालमा ७.१२ प्रतिशत मुद्रास्फीति रहेको छ। २०७९ वैशाख महिनामा यी क्षेत्रमा क्रमशः ७.३९ प्रतिशत, ८.१५ प्रतिशत, ७.८९ प्रतिशत र ८.२१ प्रतिशत मुद्रास्फीति रहेको थियो।

२०८० वैशाख महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ३.३१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १६.०६ प्रतिशत रहेको थियो। समीक्षा महिनामा मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ७.०४ प्रतिशत र ४.३३ प्रतिशत रहेको छ भने उपभोग्य वस्तुको थोक मूल्य ३.१२ प्रतिशतले घटेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि २.६८ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार १५:०८