१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

साफ च्याम्पियनसिपका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा


२५ जेठ, काठमाडौं । १४औं साफ च्याम्पियन सिपका लागि साविक उपविजेता रहेको नेपाली टोलीको घोषणा गरेको छ । आगामी असार ६ गतेदेखि भारतको दक्षिण शहर बैंगलुरुमा सुरु हुने नेपाली टोलीका लागि प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्वर्टो एनेसले २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

टोलीमा उनले ३ नयाँ अनुहारलाई अवसर दिएका छन् । रक्षा पंक्तिका खेलाडीद्वय विमल पाण्डे र सीमान्त थापा एवं मध्यपंक्तिका लोकेन लिम्बू टोलीको नयाँ सदस्य बनेका छन् ।

साफ च्याम्पियन सिपको पछिल्लो उप विजेता नेपाल साविक विजेता एवं घरेलु टोली भारत, कुवेत र पाकिस्तान जस्ता सशक्त टोली रहेको समूहमा रहेको छ ।

कुवेत र लेबनान यसपटक साफ च्याम्पियन सिपको आमन्त्रित पाहुना टोली हुन् । दक्षिण एसियाली मुलुकहरुको फुटबल स्तर बढाउने उद्देश्यका साथ यी दुई टोलीलाई यसपटक साफ च्याम्पियन सिपमा सहभागी गराइएको हो ।

घोषित नेपाली टोलीको गोलरक्षकमा कप्तान किरणकुमार लिम्बू, दीपकार्की र विशाल श्रेष्ठ रहेका छन् । यस्तै रक्षापंक्तिमा रोहितचन्द, निशान्त खड्का, देबेन्द्र तामाङ, अनन्त तामाङ, सनिश श्रेष्ठ, सीमान्त थापा र बिमल पाण्डे रहेका छन् ।

टोलीको मध्यपंक्तिमा नविन लामा, लोकेन लिम्बू, एरिक विष्ट, आभास लामिछाने र पुजन उपर्कोटी छन् भने अग्रपंक्तिमा नवयुग श्रेष्ठ,अन्जन विष्ट, मनिष डाँगी, आयुस घलान, विमल घर्तीमगर र दीपकराज सिंह छन् । नेपाली टोलीले साफ च्याम्पियन सिपमा उत्रनु अघि फिलिपिन्ससंग मैत्रीपूर्ण खेल खेलेर उतैबाट बैंगलुरु प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहीबार १७:४३