७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

बैंकिङ्ग प्रणालीमा एकैदिनमा थपियाे ५ अर्ब निक्षेप, सीडी रेसियो कति ?


२४ जेठ, काठमाडाैं । पछिल्लाे समय बैंक तथा वित्तिय संस्थामा तरलतामा सुधार देखिएकाे छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे तथ्याङ्क अनुसार एकै दिनमा ५ अर्ब रुपैयाँ निक्षेप बढेकाे छ ।

नेपाल राष्ट्र बैंकका अनुसार जेठ २१ गते, आइतबारसम्म बैंकहरूकाे निक्षेप ५५ खर्ब २५ अर्ब रूपैयाँ रहेकाे थियाे । एकै दिन निक्षेप ५ अर्बले बढेर जेठ २२ गते साेमबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५५ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप रहेको पुगेकाे छ । याे अवधिमा वाणिज्य बैंकहरूकाे निक्षेप पनि ४ अर्बले बढेर ४८ खर्ब ८० अर्ब पुगेकाे छ ।

सो अवधिमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह पनि वृद्धि भएको छ  । बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी एकैदिन ३ अर्ब रुपैयाँले बढेर ४८ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ । आइतबारसम्म बैंक तथा वित्तीय संस्थाकाे कर्जा लगानी ४८ खर्ब ५१ अर्ब रुपैयाँ रहेकाे थिए ।

याे अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी पनि २ अर्बले बढेर ४२ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ । आइतबारसम्म बैंकहरुकाे कर्जा लगानी ४२ खर्ब ९७ अर्ब रुपैयाँ थिए ।

बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ८४.५२ प्रतिशतबाट घटेर ८४.४९ प्रतिशत रहेकाे राष्ट्र बैंकले जनाएकाे छ । बैंकहरूकाे अन्तर बैंक ब्याजदर ६.७५ प्रतिशतबाट ६.६६ प्रतिशतमा पुगेकाे छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार १४:०१