१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

पारवाहन सन्धिबाट तेस्रो मुलुकसँग व्यापार गर्ने बाटो खुल्योः प्रधानमन्त्री


२४ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतसँग भएको सम्झौताले नेपालको पारवाहन अधिकारलाई थप सुनिश्चित गरेको बताएका छन् । सँगै तेस्रो मुलुकसँग व्यापार गर्न बाटो खुलेको उनको भनाई ।

भारत भ्रमणबारे राष्ट्रिय सभालाई जानकारी गराउँदै उनले भारत भ्रमणका क्रममा सात बुँदे सहमति भएको र त्यसले तेस्रो मुलुकसँगको व्यापारका लागि पारवाहन अधिकार सुनिश्चित गरेको बताए ।

नेपाल–भारत पारवाहन सन्धिले मल्टिमोडल ढुवानीको माध्यमबाट पारवाहन सुविधा सुनिश्चित भएको प्रधानमन्त्री दाहालले बताए । उनले भने,‘नेपाल भारत पारवाहन सन्धिबाट तेस्रो मुलुकसँगको व्यापार पहुँचमा नेपालको पारवाहन अधिकार सुनिश्चित भएको छ ।’

पारवाहन सन्धिमा दूरगामी महत्वका नयाँ प्रावधान सामेल भएको हुँदा नेपाललाई दीर्घकालीन रुपमा फाइदा पुग्ने उनको दावी छ । बीरगञ्जबाहेक भैरहवा र विराटनगर तथा भविष्यमा विकास हुने अन्य नाकाहरुबाट समेत सिमेन्ट,कोइला लगायतका विविध सामग्री ढुवानी गर्न नेपाललाई सहज हुने उनले सभामा जानकारी गराए ।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार १२:४७