१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

‘बा’ ब्रान्डिङमा रहेको एमालेले हटायो ७० वर्षको उमेर हद


२४ जेठ, काठमाडाैँ । ‘बा’ ब्रान्डिङमा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ‘बा’ पार्टीमा रहेको उमेर हदको प्रावधान हटाएको छ । पार्टीको विधान सम्मेलनले पारित गरेको विधानको बुँदा सचिवालय बैठकबाट निलम्बन गरेको हो ।

एमालेको शुक्रबारको सचिवालय बैठकले उमेर हदको प्रावधान निलम्बन गर्दै अर्को बिधान महाधिवेशन मार्फत विधान संशोधन गर्ने भएको छ । एमालेका एक पादधिकारीले दैनिकीसँग कुरा गर्दै तत्कालका लागि नेकपा एकीकृत समाजवादीबाट एमालेमा फर्किएका मुकुन्द न्यौपानेको जिम्मेवारीको सहजताका लागि विधान निम्लबन गरिएको भनिए पनि यसको गुप्त कुरा अर्कै रहेको बताए । उनले एमालेमा ओलीपछि नेतृत्वका लागि कोही तयार छैनन् (योग्य नभएको) भन्ने सन्देश प्रवाह गर्न खोजिएको बताए ।

एमालेको दशौँ महाधिवेशन अघिको गोदाबरी विधान सम्मेलनले कार्यकारिणी कमिटीमा ७० वर्षको उमेर हद लाग्ने निर्णय गरेको थियो । यद्यपी त्यसअघि नै एमालेमा त्यो प्रावधान कार्यान्वयनमा आइसकेको थियो । सो प्रावधान कार्यान्वयनमा सहयोग गर्दै साहना प्रधान, भरतमोहन अधिकारी, महेन्द्र पाण्डे लगायतले पार्टीको कार्यकारिणी भूमिका स्वच्छिक रूपमा त्याग गरेका थिए ।

तर अहिलेको बिधानको उमेर हदको व्यवस्था निलम्बन गरेपछि स्वयं अध्यक्ष केपी ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायतलाई पार्टीको नेतृत्वमा रहिरहन सहज भएको छ । ७० वर्षे उमेर हद हटाएकोमा एमालेका नेता कार्यकर्ताले सामाजिक सञ्जाल मार्फत भने तीब्र असन्तुष्टि जनाएका छन । यद्यपी उमेर हद ओलीकै लागि हटाइएको कतिपयले दाबी समेत गरेका छन ।

एमालेको पछिल्लो केही वर्षका गतिबिधि अध्यक्ष ओलीको लोकप्रियता बढाउने नाममा ‘बा’ ब्रान्डिङमा केन्द्रीत रहेको छ । एमालेले केही समूह नै परिचालन गरेर अध्यक्ष ओली जहाँ पुग्यो त्यही ‘आइ लभ यू केपी बा’ ‘वी लभ यू केपी बा’ लगायतका नारा लगाउने र पार्टी भित्र पनि अनौपचारिक सम्बोधनका क्रममा कमरेड छाडेर ‘केपी बा’ भन्ने चलन चलाएको छ ।

गत चुनावमा एमालेले संचार माध्यममा ‘बा’ कै ब्रान्डिङका लागि ‘मंसिर ४ ओली सरकार’को नारा बनाएर करोडौँ खर्च गरेर विज्ञापन गरेको थियो । अर्थात चुनावको मुख्य नाराबाटै एमाले भन्ने नाम नै गायब पारिएको थियो । पछिल्लो समय ‘बा’ ब्रान्डिङ गर्न केपी ओली कै नाममा ‘केपी बा’ नामको युट्युब च्यानल सञ्चालन गरी ‘बा’ नाममा ओलीका अभिव्यक्ति राख्नेक्रम सुरू गरेको छ । सोही अभिव्यक्तिको स्क्रिप्ट उतारेर कान्तिपुर दैनिकमा उनको विचारको रूपमा समेत प्रकाशित हुँदै आएको छ ।

पछिल्लो पटक युट्युबवाला बाको जिम्मा लिएर त्यसको संयोजन र उत्पादनको काम भने मनोज पाण्डे नेतृत्वको कथा नेपालले गर्दै आएको छ । पाण्डे तीनै व्यक्ति हुन जसले प्रधानमन्त्रीको अडियो भिडियो विज्ञको रूपमा केपी ओली नेतृत्वको सरकार हुँदा सिंहदरबारभित्रै विप्लवको शैलीमा चन्दा आतंक चलाएको आरोप लागेको थियो ।

पाण्डेले ओली प्रधानान्त्रीको भएको समयमा एक वर्षसम्म नेपाल टेलिभिजनमा जनतासँग प्रधानमन्त्री कार्यक्रम पनि चलाएका थिए । बिना प्रतिस्पर्धा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमालको योजनामा पाण्डेको कथा नेपालले जनतासँग प्रधानमन्त्री कार्यक्रमको ठेक्का लिएपछि मन्त्रिपरिषद्का वरिष्ठ सदस्यहरूको आपत्तिपछि एक वर्षमै उक्त कार्यक्रम बन्द  भएको थियो । यद्यपी सोल्टी होटलमा सक्सेस पार्टी दिइएको थियो ।

अहिले एमालेको अडियो भिडियोको काम बिना प्रतिस्पर्धा बजार मूल्यभन्दा तीनदेखि चार गुणा महंगोमा उनै पाण्डेसहितको समूहले गर्ने गरेको छ । विगतमा नेपाली कांग्रेस निकटको भए पनि पाण्डे अहिले एमाले उपमहासचिव विष्णु रिमालसँग निकट रहेका छन ।

यो पनि पढ्नुहोस्

कथा नेपाललाई चार लाखका दरले चन्दा दिन बाणिज्य बैंकहरूलाई बैंकर्स संघको उर्दी

अन्ततः बन्द भयो ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रम, अडियो/भिडियो विज्ञबाट पनि पाण्डेको राजिनामा

कथा नेपालको समृद्धिमा प्रधानमन्त्रीको योगदानको एक वर्ष, सोल्टी होटलमा भव्य भोज गरिदैँ

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार ०८:००