७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण


काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण क्षेत्रमा भएको मूल्यवृद्धिका कारण काम गर्न समस्या परेको भन्दै भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वीरबहादुर बलायरको ध्यानाकर्षण गराएको छ । महासंघको टोलीले आज मन्त्री बलायरलाई मन्त्रालयमा भेटेर मूल्यवृद्धिले निर्माण व्यवसायी र आम जनता समस्यामा परेको भन्दै ध्यानाकर्षण गराएको हो । केही साताअघिदेखि इन्धन, सिमेन्ट, डण्डी, गिटी, बालुवाजस्ता प्रमुख सामग्रीमा अप्रत्याशितरुपमा मूल्यवृद्धि भइरहेकाले देशभर क्रियाशील निर्माण व्यवसायी मर्कामा परेको बताइएको छ ।

यस्तै काम गरेको बजेट निकासा नहुँदा व्यवसायी ठूलो आर्थिक मारमा परेको भन्दै समस्या समाधानका लागि ठोस पहल गरिदिनसमेत टोलीले मन्त्री बलायरलाई आग्रह गरेका छन् । भेटपछि मन्त्री बलायरले निर्माण व्यवसायीले राखेका माग राम्रो भएको भन्दै आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको मन्त्रीको भनाइ उद्धृत गर्दै महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : १२ माघ २०७४, शुक्रबार ०७:५६