७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

प्रचण्ड अर्थमन्त्री हुँदा नियुक्त भएका थिए बजेट बनाउने नासु श्रेष्ठ


२२ जेठ, काठमाडाैँ । व्यापारीकाे स्वार्थमा करकाे दर परिवर्तन गराउन भूमिका खेलेकाे पूर्व नासू रामकृष्ण श्रेष्ठ अर्थमन्त्रीकाे जिम्मेवारी समेत लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यकालमा असार मसान्तसम्मका लागि नियुक्त भएकाे खुलासा भएकाे छ ।

श्रेष्ठले २०७९ फागुन २५ गते नियुक्ति पाएका थिए । फागुन १५ मा एमाेले सरकार छाडेपछि अर्थ मन्त्रालय प्रचण्डले सम्हालेका थिए । प्रचण्डले २०७९ चैत्र १७ गतेसम्म अर्थ मन्त्रालयको कार्यभार पनि आफैँले सम्हालेका थिए ।

यसअघि अर्थमन्त्री डा प्रकाशशरण महतले अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गराएको अरोप चलिरहेकै समयमा अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पूर्व नासुलाई विज्ञको रूपमा बजेट बनाउन लगाइएको पुष्टि गरेकाे थियाे ।

सोमबार साँझ मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव धनिराम शर्माले विज्ञप्ति जारी गर्दै करारमा नियुक्ति दिएर पूर्व नासु रामकृष्ण श्रेष्ठलाई बजेट बनाउन लगाइएको प्रष्ट पारेका छन । श्रेष्ठ स्वयंले पनि यस विषय स्वीकार गरिसकेका छन ।

श्रेष्ठलाई सूचना प्रविधि सहायकमा करारमा नियुक्त गरी आर्थिक विधेयक २०८०/८१ टाइप गर्ने काममा लगाइएको भने पनि उनको करको दर हेरफेरमा व्यपारिक स्वार्थ समूहको काम गरेको आरोप संसदसम्म पुगिसकेको छ । श्रेष्ठले स्वयंले पनि अर्थमन्त्री डा महतले संसदमा पेश गरेको बजेटमा करका दर संशोधन गर्ने कार्यमा निकै मिहिनेत गरेर काम गर्नुपरेको बताइसकेका छन ।

उनले करका दर मिलाउने बारेमा आफू विज्ञनै भैसकेको समेत दाबी गरेका छन । श्रेष्ठ भन्सार विभागमा लामो समय काम गरेर नायब सुब्बाबा अवकाश पाएका कर्मचारी हुन ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलवार १६:०८