१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

नेपाल-भारत अन्तरदेशीय डिजिटल कारोबार सम्बन्धी अध्ययन प्रतिवेदन हस्तान्तरण


२१ जेठ, काठमाडौं ।  आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान)ले नेपाल राष्ट्र बैंकलाई नेपाल-भारत अन्तर देशीय डिजिटल कारोबार सम्बन्धी अध्ययन प्रतिवेदन हस्तान्तरण गरेको छ । इमान अध्यक्ष रोयल आचार्य नेतृत्वको प्रतिनिधि मण्डलले गभर्नर महाप्रसाद अधिकारीलाई प्रतिवेदन हस्तान्तरण गरेको हो ।

सो अवसरमा गभर्नर अधिकारीले अन्तरदेशीय डिजिटल कारोबारले भारतबाट नेपाल आउने पर्यटकलाई थप सहज वातावरण सृजना गर्ने डिजिटल कारोबारसम्बन्धी अध्ययन गरेकोमा इमानलाई धन्यवाद ज्ञापन गरेका थिए ।

“विशेषगरी भारतबाट नेपाल आउने पर्यटकहरूलाई पेमेन्टको समस्या छ । अझ नेपालबाट भारत जाने विद्यार्थी र तीर्थ यात्रुहरूलाई अफ्ठ्यारो पर्ने गर्दथ्यो’, गभर्नर अधिकारीले भने, “अब अन्तरदेशीय डिजिटल कारोबारले गर्दा पेमेन्टमा थप सहयोग पुग्नेछ । यसका लागि हामी थप होमवर्क गर्दैछौँ । यसमा इमानले गरेको अध्ययन प्रतिवेदन हाम्रा लागि सहयोगी हुनेछ भन्ने हाम्रो अपेक्षा छ ।”

प्रतिवेदन हस्तान्तरणमा इमानका उपाध्यक्ष डिल्ली सापकोटा, महासचिव, सुरज प्याकुरेल, उपमहासचिव रामेश्वर कार्की र सचिव टंक कार्की लगायत उपस्थित रहेका थिए ।

यस्तै इमानले सो प्रतिवेदन नेपाल बैंकर्स सङ्घका अध्यक्ष सुनील केसीलाईसमेत आज हस्तान्तरण गरेको छ । इमानको प्रतिवेदन बुझ्दै अध्यक्ष केसीले महत्त्वपूर्ण अध्ययनका लागि धन्यवाद व्यक्त गर्नुभयो । इमानको टोलीले दुई साताअघि भारतको नयाँदिल्ली र उत्तरप्रदेशको विभिन्न सहरमा गएर त्यहाँ रहेका नेपालीहरूसँग भेटघाट गरी अध्ययन प्रतिवेदन तयार परेको थियो ।

नबिल बैंक लिमिटेडको सहयोग इमानले उक्त अध्ययन गरेको हो । अध्ययन प्रतिवेदन यसअघि नबिल बैंकमा पनि सधन्यवाद हस्तान्तरण गरिसकिएको छ । अध्ययनमा आचार्यसहित, प्रकाश सिलवाल, माधवप्रसाद तिवारी र सुरज प्याकुरेल लगायत सहभागी भएका थिए ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आईतवार १६:०७