७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

अत्याधिक गर्मी बढेपछि तराईका विद्यालय धमाधम बन्द गरिँदै


१८ जेठ, काठमाडौं । केही दिनदेखि तापक्रम अत्याधिक बढेपछि पूर्वी तराईका जिल्लास्थित विद्यालय बन्द गर्नु पर्ने स्थिति आएको छ । गर्मी बढेपछि विराटनगर र सुनसरीका स्थानीय तहले दुईदेखि एक सातासम्मका लागि विद्यालय बन्द गरेका छन् ।

विराटनगरमा अहिले तापक्रम ४१ डिग्री पुगेको छ । गर्मीका कारण जनजिवन प्रभावित बनेको छ । सुनसरीको सदरमुकाम इनरुवासहित तीन स्थानीय तहले विद्यार्थीको स्वास्थ्यलाई ध्यान दिएर विद्यालय बन्द गराएका छन् ।

मोरङको विराटनगर महानगरपालीकाले मातहत रहेका विद्यालयलाई दुई बिदा दिएको छ । त्यस्तै, सुनसरीको इटहरी उप–महानगरपालीकालेपनि मातहत रहेका विद्यालयलाई साता दिनसम्मका लागि बन्द गरेको छ ।

गर्मीका कारण बालबालिकामा पर्न सक्ने असरलाई मध्यनजर गर्दै बर्खे बिदाबाट कट्टा हुने गरि १९ गते सम्मका लागि विद्यालय बन्द गरिएको बिराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । बिद्यालय बन्द गराउँदा पूर्वनिर्धारित परीक्षा भने यथावत् रूपमा सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिएका छन् ।

महानगरपालिकाका मेयर नागेश कोइरालाले गर्मीका कारण विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द गर्ने निर्णय गर्नु परेको बताए । उनले भने,‘गर्मी बढेको छ । विद्यार्थी बिद्यालयमा नै बेहोस हुन थाले । त्यसो हुँदा केही दिनका लागि विद्यालय बन्द गराउनु परेको हो ।’

त्यस्तै, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले पनि पाँच दिनकोलागि विद्यालयमा बिदा दिएको गाउँपालिका प्रमुख अजमल अख्तर आजादले जानकारी दिए ।

उनले भने,‘गाउँपालिकाभित्र ४१ वटा विद्यालय छन् । अत्याधिक मात्रामा बढेको गर्मीलाई मध्यनजर गर्दै बर्खे बिदाबाट कट्टी हुनेगरि सबै विद्यालयका विद्यार्थीलाई पाँच दिनको लागि बिदा दिएका छौं ।’

गाउँपालिकामा सार्वजनिक र संस्थागतसँगै १६ वटा मदरशा छन् । मदरशामा फ्यान सहितको सुविधा रहेका हुँदा बन्द नहुने गाउँपालिका प्रमुख आजादले जानकारी गराए । गाउँपालिकामा बिहीबार गतेदेखि मंगलबारसम्मपाँच दिन विद्यालयमा बिदा दिइएको छ । सुनसरीकै इनरुवा नगरपालिकाले पनि बिहीबारदेखि बुधबारसम्मका लागि सबै विद्यालयमा बिदा दिएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहीबार १०:०१