१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

राष्ट्रपतिले छाडेनन् गलत झण्डाको प्रयोग, सुधारको साटो सचिव पनि गलत झण्डाको प्रयोगमा


-पवित्रा मुडभरी

२१ जेठ, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गलत राष्ट्रिय झण्डाको प्रयोगलाई नै निरन्तरता दिएका छन । राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलले कैद गराएको कार्यालय प्रयोजनको आधाकारिक तस्बिरमा राष्ट्रिय झण्डाको गलत प्रयोग गरिएको थियो । राष्ट्रपतिले प्रयोग गरेको राष्ट्रिय झण्डा गलत हो भन्ने जानेको राष्ट्रपति कार्यालयले राष्ट्रपतिको पौडेलको तस्बिर सच्याउनुको साटो राष्ट्रपति कार्यालयका सचिव डिल्लीराम शर्माले समेत गलत राष्ट्रिय झण्डाको प्रयोग गरेका छन ।

सर्वसाधारणले समेत अनुशरण गरून भनेर झण्डाको सही प्रयोग गर्नुपर्नेमा संविधानको संरक्षक राष्ट्रपति र सोही कार्यालयका सचिवले कार्यालय प्रयोजनको तस्बिरमै गलत झण्डाको प्रयोग गरेका हुन । राष्ट्रपति पौडेलले छातीको देब्रे भागमा लगाएको लोगोमा गलत झण्डाको प्रयोग भएको छ । नेपालको संविधान र कानुनले निर्दिष्ट गरेको भन्दा फरक झण्डाको प्रयोग गर्नु कानुन विपरित हो । हामीले यस विषयमा राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलसँग प्रतिक्रिया माग्दा उहाँले आफूले बुझेर खबर गर्ने बताए ।

त्यस्तै राष्ट्रपति कार्यालयका प्रवक्ता सहसचिव शैलजा रेग्मी भट्टराईले राष्ट्रिय झण्डको प्रयोगको सम्बन्धमा सरकारले मापदण्ड नै बनाएकाले गलत झण्डाको प्रयोग गर्न नपाइने बताइन । उनले राष्ट्रपति र सचिवले कार्यालय प्रयोजनको तस्बिरमा गलत झण्डाको प्रयोग गरेको बारेमा अाफूले पनि जानकारी गराएर सच्याउन लगाउने बताइन । यसअघि गत चैत १ गते दैनिकीले राष्ट्रपतिले नै गलत राष्ट्रिय झण्डको प्रयोग गरेको सम्बन्धमा समाचार प्रकाशित गरेको थियो ।

नेपालको संविधान, २०७२ को धारा ८ मा उल्लेख भए बमोजिम सिम्रिक रंगको भुइँ र गाढा नीलो रंगको किनारा भएको दुई त्रिकोण अलिकति जोडिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अंकित भएको परम्परागत झण्डा नेपालको राष्ट्रिय झण्डा भएको उल्लेख गरिएको छ । तर राष्ट्रपति र सचिलले प्रयोग गरेको झण्डामा त्रिकोण रहेको छैन ।

राष्ट्रिय झण्डा माथि किन अपमान ?

राष्ट्रपति मात्र हैन नेपाल सरकारका मन्त्री र उच्च सरकारी अधिकृतले नेपाली झण्डाको गलत प्रयोग गरिरहेका हुन्छन् । तर गृहमन्त्रालयले झण्डाको प्रयोगका बारेमा सूचना निकाल्नेबाहेक अर्को कुनै काम गरेको देखिदैन । देशको पहिचनसँग जोडिएको राष्ट्रिय झण्डाको प्रयोगमा उच्चपदस्थहरूबाटै यो हदको लापरवाही हुनु गम्भीर विषय हो । यद्यपी उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले केही अघि राष्ट्रिय झण्डाको गलत प्रयोग रोक्ने बताएका थिए । उनले माैखिक प्रतिवद्धता जनाए पनि अहिलेसम्म ठोस रूपमा कुनै कदम चालेका छैनन् ।

राष्ट्रपति पाैडेलले नै प्रयोग गरे गलत नेपाली झण्डा, राष्ट्रिय झण्डा माथि किन अपमान ?

यस्तो हुन्छ संविधानले व्याख्या गरेको नेपाली झण्डा 

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार १०:१२