८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

एमालेकाे अवराेधपछि संसद बैठक स्थगित


१२ जेठ, काठमाडाैं । नेकपा एमालेले संसद बैठक अवरोध गरेपछि बैठक स्थगित भएकाे छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरे पछि सभामुख देवराज घिमिरेले संसद बैठक २० मिनेटका लागि स्थगित गरेका हुन् । संसदमा पशुपतिनाथमा सुन भनेर पित्तल हालेको आरोप नेकपा एमालेका अध्यक्षमाथि लगाइएको भन्दै एमालेले संसद अवरोध गरेको हो । शुक्रबारको बैठक सभामुखले सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए।

त्यसपछि एमाले प्रमुख सचेतक पदम गिरीलाई सभामुखले बोल्न समय दिए। गिरीले पशुपतिको मन्दिरको गजुरका विषयमा एमालेलाई आधारहीन आरोप सत्तापक्षीय सांसदले लगाएकोमा उक्त रेकर्ड हटाउनुपर्ने र सांसदले माफी माग्नुपर्ने अडान राखेका थिए।

यसअघि प्रतिनिधि सभामा बोलेका नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमालेप्रति लक्षित गर्दै ‘पशुपतिमा सुनको जलहरि राख्ने भनेर पित्तलको जलहरि राखी भ्रष्टाचार गरेको’ आरोप लगाएका थिए। त्यसपछि एमाले सांसदहरू बसेका ठाउँबाट पुन: उठेका छन्। एमाले सांसदहरूले यसबारे सरकारले जवाफ राख्नुपर्ने मागसमेत गरेका छन्। सभामुखले माओवादी प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएपछि एमाले सांसदहरूले नाराबाजीसमेत गरेका थिए ।

 

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार १२:३९