१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बागमती प्रदेश खेलकुदः बक्सिङमा सोहन र पेमा उत्कृष्ट घोषित


११ जेठ, हेटौडा । मकवानपुरका सोहन राई र काभ्रेकी पेमा लामा जारी दोस्रो बागमती प्रदेश खेलकुदको बक्सिङ प्रतियोगितामा उत्कृष्ट बक्सर घोषित भएका छन् । हेटौडास्थित हेटौडा कभर्डहलमा सम्पन्न बक्सिङ प्रतियोगितामा पुरुष ६३ केजी तौल समूहमा स्वर्ण विजेता सोहन र महिला ५७ केजीमा स्वर्ण विजेता पेमा उत्कृष्ट बक्सर भएकी हुन् ।

सोहनले फाइनलमा सिन्धुपाल्चोकका प्रज्वल श्रेष्ठलाई ५–० ले हराए । पेमाले भने फाइनलमा चितवनकी नतिसा थापामगरलाई ५–० ले नै हराइन् । प्रतियोगितामा काभ्रे ७ स्वर्ण, २ रजत र २ कांस्यसाथ टिम च्याम्पियन बन्यो । समान ३–३ स्वर्ण, रजत र कांस्यसाथ काठमाडौं दोस्रो भयो । तेश्रो स्थानमा चित्त बुझाएको भक्तपुरले ३ स्वर्ण हात पार्यो ।

पुरुष ४८ केजीमुनि काभ्रेका लक्ष्मण राईले स्वर्ण र लतिलतपुरका प्रकाश कठायतले रजत पदक जिते । पुरुष ५१ केजीमुनि काभ्रेका लालप्रसाद उप्रेती र ५४ केजीमा काठमाडौंका मदनकृष्ण डंगोलले स्वर्ण जिते । फाइनलमा लालप्रसादले मकवानपुरका शशी विक र मदनले काभ्रेका सुलभ डंगोललाई समान ५–० ले हराए । ५७ केजीमा नुवाकोटका निरन्जन मोक्तानले फाइनलमा ललितपुरका रोशन आछामीलाई ३–३ ले हराउँदै स्वर्ण जिते । ६० केजी तौलसमूहमा ललितपुरका सागर दर्जी र ६७ केजीमा ललितपुरकै विकास रानामगरले मकवानपुरका अनिष मुलामीलाई अंकका आधार हराउँदै स्वर्ण जिते ।

पुरुषको ६७ केजी तौलसमूहमा सिन्धुपाल्चोकका चन्द्रबहादुर तामाङलाई ५–० ले हराउँदै स्वर्ण जिते । ७५ केजीमा काठमाडौंका अश्विनधीरण श्रेष्ठले फाइनलमा नुवाकोटका आषिश पुडासैनी र ८० केजीमा सिन्धुपाल्चोकका निश्चल विष्टले सबिन महतलाई हराउँदै स्वर्ण पदक प्राप्त गरे । ८६केजी तौलसमूहमा भक्तपुरका विजय बाटाले काठमाडौंका आयुष अधिकारीलाई हराउँदै स्वर्ण जिते । ९२ केजीमाथि काठमाडौंका सन्जोक गुरुङले पहिलो राउन्डमा नै काठमाडौंका शुभम पाठकलाई हराउँदै स्वर्ण आफ्नो बनाए ।

महिलातर्फ ४८ केजीमा सिन्धुलीका रमिशा श्रेष्ठले फाइनलमा काभ्रेका पूर्णिमा तामाङ र ५० केजीमाथि भक्तपुरकी अस्मिता दुवालले काठमाडौंकी उर्वशी श्रेष्ठलाई हराउँदै स्वर्ण पदक प्राप्त गरे । महिलाकै ५२ केजीमा भक्तपुरकी भावना भण्डारीलाई र ५४ केजीमा काभ्रेकी एलिना गर्बुजालाई हराउँदै स्वर्ण पदक आफ्नो बनाए ।

६० केजीमा नुवाकोटकी रक्षा जिसीले फाइनलमा चितवनकी जस्मिन गुरुङलाई पहिलो राउन्डमा नै हराउँदै स्वर्ण आफ्नो बनाइन् । ६३ केजीमा काभ्रेकी जिबिका थापा र ६६ केजीमा काभ्रेकै प्रतिशा राईले स्वर्ण पदक प्राप्त गरे । फाइनलमा जिबिकाले काठमाडौंकी सन्जना पुजारी र प्रतिशाले चितवनका तृष्णा गुरुङलाई हराइन् । महिलाकै ७५ केजीमा काभ्रेकी शीला महर्जनले फाइनलमा चितवनकी तनिशा महर्जनलाई हराउँदै स्वर्ण पदक प्राप्त गरिन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहीबार १५:४८