१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

दाङमा हुने बाल चलचित्र महोत्सवबारे छलफल


८ जेठ, दाङ। चलचित्र विकास बोर्डले आगामी असार १,२ र ३ गते दाङ जिल्लाको घोराहीमा आयोजना गर्न लागेको प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सवको लागि स्थानीयस्तरमा नै पुगेर छलफल गरेको छ । बोर्डका प्रवक्ता केएल बुढाथोकी, बोर्डका सदस्य सचिव टंकबहादुर महतसहितको ४ जनाको टोली दाङ पुगेर महोत्सवको तयारीबारे स्थानीय सरोकारवालसँग छलफल गरेको छ ।

बालबालिकामाझ चलचित्रको माध्यमबाट शिक्षा, संस्कृतिको प्रवृद्धन गर्ने र उनीहरुलाई फिल्मको अभ्यास गराउने उद्देश्यले पहिलो पटक महोत्सव गर्न लागेको बोर्ड प्रवक्ता तथा महोत्सव संयोजक बुढाथोकीले बताउनुभयो । “महोत्सवका बालबालिका सम्बन्धी चेतना मुलक र प्रेरणादायी चलचित्रहरु प्रर्दशनी गरिनेछ । बालबालिकासँग सम्बन्धित तथा बालबालिकाले नै बनाएका लामा तथा छोटा शिक्षामूलक चलचित्रको प्रदर्शनीको लागि देशभरबाट बालबालिका सम्बन्धी चलचित्रहरु आह्वान गरिएको छ’, उहाँले बताउनुभयो । साथै उहाँले बोर्डले दुरदराजसम्म फिल्मको सम्भावनाको खोजी गर्ने उद्देश्यले मोफसलमा महोत्सव आयोजना गर्न लागेको जिकिर गर्नुभयो ।

छलफलमा सहभागिले यो महोत्सवले बालबालिकालाई सन्देश मुलक शिक्षा दिने र उनीहरुको रचनात्मक विकासमा महत्चपूर्ण भूमिका खेल्ने बताउँदै सबैले आ-आफ्नो तवरले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । सो छलफलमा दाङ जिल्लाका वौद्धिक व्यक्तिहरु, कलाकार, साहित्यकार, सुरक्षाकर्मी, शिक्षाकर्मी, व्यवसायी तथा पत्रकारहरुको सहभागिता थियो ।

महोत्सवमा सहभागि हुन जेठ १५ गतेभित्र चलचित्र विकास बोर्डमा निवेदन दिनुपर्नेछ । निवेदनका साथमा जाँच प्रमाणपत्रको प्रतिलिपि पनि पेश गर्नुपर्नेछ । वृत्तचित्र, कथानक वा लघु चलचित्रले सहभागिता जनाउन सक्नेछन् । छनोटमा परि प्रदर्शन भएका चलचित्रहरुलाई प्रोत्साहन स्वरुप बोर्डको निर्णयबाट केहि रकम समेत उपलब्ध हुनेछ ।

महोत्सवमा चलचित्रहरुको प्रदर्शनी सँगै चलचित्रज्ञान सम्बन्धि हाजिरीजबाफ प्रतियोगिता, पुस्तक प्रदर्शनी एवम् फोटो प्रदर्शनी तथा चलचित्र नृत्य प्रतियोगिता समेत हुनेछ । महोत्सवको दौरान ‘बालबालिकासँग भुवन केसी’ सेगमेन्ट आयोजना हुनेछ जहाँ स्थानीय झाँकी र साँस्कृतिक प्रदर्शनीसहित बोर्ड अध्यक्ष तथा विशिष्ट अभिनेता केसीको परिचयात्मक श्रव्यदृश्य सामग्री समेत प्रदर्शन हुनेछ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार ११:४९