१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

नेपाली विद्यार्थी रोजगारीकै लागि विदेशिनु पर्ने अवस्था अन्त्य गर्नुपर्छः मन्त्री साउद


७ जेठ, काठमाडाैं । परराष्ट्रमन्त्री एनपी साउदले ठूलो संख्यामा नेपाली विद्यार्थी रोजगारीकै लागि विदेशिनु पर्ने अवस्थाको अत्य गर्न नेपाली शैक्षिक प्रणालीमा व्यापक तर सघन रुपान्तरणको आवश्यकता रहेको बताएका छन् ।

लाखौं विद्यार्थी सर्टिफिकेट बोकेर विदेशिनु पर्ने बाध्यता भएको बताउँदै उनले यसकाे अन्त्य आवश्यक भएको बताए । मन्त्री साउदले नेपाली शैक्षिक प्रणालीमा बजारमा रोजगारी सृजना गर्न सक्ने दक्षजनशक्ति उत्पादन गर्ने खालको शैक्षिक रुपान्तरणको तत्काल आवश्यक रहेको पनि प्रष्ट पारे ।

‘म युवा भाईबहिनीलाई आग्रह गर्छु, शैक्षिक प्रमाणपत्र बोकेर रोजगारी खोज्ने बेला यो होइन् । शिक्षामा व्यापक र सघन रुपान्तरण गरेर बजारमा रोजगारी सृजना गर्न सक्ने क्षमताको विकास गर्नु अहिलेको शिक्षाको आवश्यकता हो ’ साउदले भने ।

गत चैत महिनामा मात्रै १ लाख ४१ हजार बढी विद्यार्थीको पासवर्ड बनेको तथ्यांक उल्लेख गरेका उनले उक्त पासवर्डको संख्याले बेन ड्रेनको संकेत दिएको बताए । त्यसलाई नेपालमै रोजगारी सृजनागरि रोक्नु पर्ने उनको जोड थियो ।

मन्त्री साउदले शैक्षिक रुपान्तरणको आवश्यकतालाई ध्यानमा राखेर सरकारले उच्च शिक्षा आयोग गठन गर्ने जानकारी दिए । उनले नेपालको शिक्षा नीतिमा व्यापक परिवर्तन सहित समयानुकूल बनाउने अठोट लिएको भन्दै यो लक्ष्य पूरा गर्न सरकारले छिटो काम गर्ने अपेक्षा व्यक्त गरे ।

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आईतवार ११:४०