१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

जेठ १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै लुम्बिनी विकास बैंक, कति पाइन्छ ब्याज ?


७ जेठ, काठमाडाैं । लुम्बिनी विकास बैंक लिमिटेडले जेठ १६ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले ‘एलबीबीएल डिबेन्चर–२०८९’नामक ऋणपत्र बिक्री खुला गर्ने भएको हो। १० वर्ष अवधिको यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक ११ प्रतिशत ब्याजदर पाउनेछन्।

बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। सोमध्ये ६० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी ४० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणमा जारी गरिनेछ। सर्वसाधारणमा जारी गरिने ऋणपत्रमध्ये २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको ३ लाख ८० हजार कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले यो ऋणपत्रमा न्यूनतम २५ इकाइदेखि अधिकतम १ लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटाेमा जेठ १९ गते हुनेछ भने ढिलाेमा जेठ ३० गते हुनेछ। यो ऋणपत्रको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ।

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आईतवार १०:३३