८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

जंगलमा भालुको आक्रमणबाट कसरी बच्ने ?


-अर्जुन पाण्डे

नेपालको पहाडी तथा मध्य पहाडी र भित्री मधेश क्षेत्रमा रुखहरु बढिरहेछन् र ती सामुदायिक बनको रुपमा विकास भैरहेछन् । जंगलको बृद्धिसंगै जंगली जन्तुहरुको संख्यामा पनि बृद्धि भैरहेको छ र तिनका आक्रमणबाट हुने मानवीय क्षतिमा पनि बढोत्तर भैरहेको छ । हाम्रो चितवन राष्टिय निकुन्ज घुम्न जाँदा होस् वा आसपास जंगलहरुमा घाँसपात गर्दा होस् मानिसलाइ बाघ भालुले आक्रमण गरेको खबर सुन्ने गर्दछौं । तसर्थ आउनुहोस् यहाँ भालुको आक्रमणबाट बच्ने केही उपायहरु बारे चर्चा गरौं ।

जंगलमा भालुको आक्रमणमा परिहालौं भनेर हामी कोही चाहँदैनौ । त्यस्तो नहोस् भनि सतर्कता नै अपनाउँछौं तर जति नै सतर्कता अपनाउँदा पनि कहिले काहीँ अचानक त्यस्तो अवस्थाको सामना गर्र्नुपर्ने हुन्छ । त्यतिबेला के गर्ने ? कसो गर्ने ? मेसो पाउँदैनौं । नगर्नु पर्ने गर्छौं, गर्नु पर्ने गर्दैनाैँ । फलत, ज्यानै जाने संभावना हुन्छ ।

भालु आक्रमणको संबन्धमा पहिलो तथ्य यो हो कि अधिकांश आक्रमणहरु विना हिंसा र कम क्षतिको हुने गर्दछन् । अर्थात भालुहरु मुल रुपमा मानिसको शिकार गर्न रुचि राख्दैनन् । यति हुँदाहुँदै पनि भालु खतरनाक जन्तुमै गनिन्छ । भालुले शत प्रतिशत यसै गर्छ भन्न सकिन्न । यसको आक्रमणमा परि मानिसको ज्यान गएका उदाहरण छन् । तर जंगलमा खास उपायहरु अपनाउन सक्ने हो भने भालु आक्रमणको जोखिम काफी हदसम्म कम गर्न सकिन्छ । भालु आक्रमणबाट बच्न सकिन्छ ।

जति नजिक उति जोखिम
भालुको आक्रमणबाट जोगिने सबैभन्दा महत्वपूर्ण उपाय भनेको भालु देखि टाढै रहनु हो । भालुको नजिक नजानु । यो नै सबैभन्दा महत्वपूर्ण उपाय हो । जंगलमा उ बस्ने, खेल्ने, हिड्ने क्षेत्र तिर नगैदिनु बेस । उसको बासस्थान वरीपरि किन जाने ? जंगल छोडेर उ मानव बस्तिमा आउँदैन । जंगलमा जाँदा भालुले खोस्रिएको, खनेको वा दिशा पिसावको चिन्ह देख्नुभयो भने आसपासमा भालु हुन सक्ने संभावना प्रवल हुन्छ, त्यस्तो ठाउँ तिर नजानु नै उत्तम । यदि यो भालुको बासस्थान हो भने यहीँ कतै भालुुको बच्चाहरु हुनसक्छन् । के ख्याल गर्नुहोस् भने पोथी भालु त्यतिबेला बढि आक्रमक हुन्छ जतिबेल उसले आफ्नो बच्चाहरु असुरक्षित महसुस गर्दछ । उ आफ्नो बच्चाको प्रतिरक्षाको खातिर अगाडी आउने जो कोहीलाइ झम्टिन्छ । अर्को, यदि तपाइँ त्यस्तो ठाउँमा पुग्नुभयो र भालुलाइ देख्नुभयो तर भालुले तपाइँलाइ देखेको छैन भने चुप रहुनहोस् । उसलाइ आफ्नो बाटो लाग्न दिनुहोस् । कुनै आवाज दिएर उसलाइ तपाइँको उपस्थिति नजनाउनुहोस् ।

मान्छे हो शिकार होइन

भालु दिमागी इन्टिलिजेन्ट जन्तु हो । नयाँ बातावरण, नयाँ जीब जान्न बुझ्न उत्सुक हुुन्छ । मानिससंग जम्काभेट हुँदा नौला जीव देखेर उसलाइ अनौठो लाग्दछ । तब मानिसलाइ हेरेर, छोएर, सुँघेर ज्ञान गर्न चाहन्छ । पहिल्यै झम्टने, टोक्ने चिथोर्ने होइन । विज्ञहरु भन्छन् ः जंगलमा भालुसंग जम्काभेट भैहाल्यो भने उसलाइ तपाइँ मानिस हो भन्ने जानकारी दिनुहोस् । उ अगाडी आउँदा पहिलो त शान्त, अचल रहनुहोस्, नहडबढाउनुहोस् । सामान्य स्वरमा बोल्नुहास् र विस्तारै हात हल्लाउनुहोस् । ख्याल राख्नुहोस् कि तपाइँ उसलाइ आफू मानव भएको परिचय दिँदै हुनुहुन्छ । तर्साउन होइन । यसो गर्दा भालुले शिकार होइन, नयाँ जन्तु रहेछ भन्ने बुझ्दछ । तपाँइको छेउमा उ पछाडीका दुइ खुट्टाले टेकेर मानिस झैं उभिन सक्छ, यसरी उभिएर तपाइँको पैताला देखि शरिर र टाउको सम्म सुँघ्न सक्छ । न आत्तिनुहोस् । उसले यो गरेको रिसाएर तपाइँलाइ आक्रमण गर्न होइन, उत्सुकता मेटाउन हो ।

शान्त अचल
जंगली भालु नजिकै आउँदा नडराउने को होला ? अवस्य नै डर लाग्छ । तपाँइलाइ पनि लाग्ला, मलाइ पनि डर लाग्छ । यति बेला हा, हु गरेर चिच्याउने अनायासै गरिन्छ । तर यहाँ यस्तो गल्ति नगर्नुहोस् । भालु आत्तिएर पहिल्यै उसले झम्टा दिन्छ । बरु शान्त, अचल रहनु नै बुद्धिमानी हो । चिच्याउँदा कराउँदा भालु पनि आत्तिन्छ । आत्तिएको बेला आफ्नो प्रतिरक्षा खातिर उसले झम्टा दिन्छ दिन्छ । च्याट्ठिएर चिच्याउनु भयो भने यो भालुको जस्तो आवाज हुन पुग्दछ र उसले आफुलाइ तर्साउन खोजेको ठान्दछ । जब भालु प्रतिरक्षात्मक हुन्छ तब उसले चिच्याउने, हिनहिनाउने, र्याल काड्ने, टाउको दायाँ बायाँ हल्लाउने र थुक्ने गर्दछ । यो बढो खतरनाक अवस्था हो ।

बढि खतरा बालबालिकामा

जंगलमा केटाकेटी लिएर जानुभएको छ भने हदै होशियार हुनुपर्दछ । केटाकेटीहरु आत्तिएर चिच्याउने, कराउने, र भाग्ने गर्न सक्छन् । यसो गर्नु महा भुल हुनसक्छ । भालुले आफुमाथि आक्रमण हुन लागेको ठान्दछ र स्वभाविक रुपमा आक्रमण गरिहाल्छ । तसर्थ पहिले केटाकेटीलाइ आफुसंग समातेर राख्नुहोस् । उनिहरुको मुख हातले छोपिदिनुहोस् ताकि उनिहरु नबोलुन्, नचलुन् । केटाकेटीको मसिनो स्वर भालुलाइ आफ्नो शिकारको आवाज झैं लाग्दछ र उनिहरुलाइ पहिले आक्रमण गर्दछ ।

एक्लै हैन एकसाथ

जंगलमा जहाँ भालु आउने जाने गरेको हुन्छ त्यस क्षेत्रमा एक्लै भन्दा समुहमा जाँदा धेरै हद सम्म सुरक्षित हुन सकिन्छ । धेरै मानिस संगै हुँदा त्यहाँ मानिसको शरीरको कढा गन्ध आएको नजिक रहेका भालु वा अन्य जंगली जन्तुले चाल पाउँछन् र खतराको आभास पाएर आफै भाग्दछन् । कहिले काहीँ समुह मै भएका साथीहरु पनि कसैको भालुसंग जम्काभेट हुँदा चार तिर तितर बितर हुने गर्दछन् । यसो गर्नु उचित होइन । यसले सबैका निम्ति खतरा हुन्छ । यदि भालु स्थिर छ भने विस्तारै दायाँ बायाँ वा पछि हट्दै पर पर हुनुहोस् । यस्तो बेला पिठ्यूँ फर्र्काएर भाग्ने गल्ति कहिल्यै गर्नुुहुन्न । पिठ्यूँ फर्काउनु उसलाइ आक्रमण गर्न सजिलो बनाइदिनु हो । पछाडिबाट आक्रमण गर्ने जंगलको शिकार रणनीति नै हो । यदि भालुले लखेट्यो भने कुदेर भालुलाइ जित्न सकिन्न न त नदि तलाउमा पौडिएर भालुलाइ जित्न सकिन्छ । एउटा जवान भालु घोडा जत्तिकै छिटो कुद्न सक्छ । बरु कसैको अगाडी भालु आइपुगेको छ भने सबै साथी एकत्रित हुने, सबैले ठूलो स्वरले कराउने गर्दा उ डराउँछ र भाग्छ ।

ठूलो जीव तपाइँ

आफू भन्दा ठूलो अजंगको जीव, जन्तुको अगाडी पर्दा जसलाइ पनि डर लाग्छ । भालुलाइ पनि त्यो हुन्छ । आफू भन्दा ठूलो जीवलाइ हत्तपत्त उसले आक्रमण गर्दैन । तसर्थ भालुको सम्मुख परेको अवस्थामा आफूलाइ संभव भएसम्म ठूलो आकारको बनाउनुहोस् । तर कसरी ? नजिक ढिस्को, ठुटो वा ठूलो ढुंगा क्यै छ भने त्यसमाथी उभिनुहोस् ताकि तपाइँ अलि अग्लो देखिनुहोस् । भालुले तलबाट हेर्नुपरोस् । दुवै हात कम्मरमा राखेर छाती फुलाउनुहोस्, आकार अलि ठूलो देखिन्छ । तब यति ठूलो अनौठो जीवसंग सकिन्न भनेर उ पछि हट्छ, भाग्छ । तर अग्लो हुने नाममा रुख चढ्ने गल्ति चहिँ कहिल्यै गर्नुहुन्न । भालु रुख चढ्न सिपालु हुन्छ । रुख चढेर भालु देखि बचिन्न ।

खानेकुरामा होसियारी

मानिसहरु खानेकुरा जंगलमा लगेर खाने गर्दछन् जुन खतरा निम्त्याउने एउटा कारण हो । मानिसले खाएर बाँकि रहेका खानेकुराका टुक्राहरु भालुले फेला पार्न सक्छ र उसले सुँघेर खानेकुरा ल्याउनेको पत्तो लगाउन सक्छ । एकपल्ट आफूले चाखेको मीठो खानेकुराको श्रोत फेला पारेपछि उसले के गर्र्छ ? सहजै अनुमान गर्न सकिन्छ । त्यसैले कुनै पनि खानेकुराको टुक्रा जंगलमा फाल्ने गर्नु हुन्न । तपाँइले फालेको खानेकुराले तपाइँ वा पछि जंगल घुम्न आउनेका निम्ति खतरा हुनसक्छ । त्यस्तै तपाइँ भन्दा अघि घुम्न आएकाहरुले फलोका खानेकुरा तपाइँका निम्ति खतरा हुन्छ । बरु तपाइँको ब्याक प्याकले चाहिँ आक्रमणका बेला तपाइँको पिठ्युँलाइ बचाउँछ । ब्याक प्याक कसिलो बाँधिराख्नु उचित हुन्छ ।

जंगलमा नाटक

कुनै पूर्व संकेत विना एक्कासी भालुले आक्रमण गरेर पछारिहाल्यो भने तपाँइसंग अरु उपाय हुन्न । मरेको लास झैं अभिनय गर्नुहोस्् । रियल अभिनय । यो नाटकले तपाइँको ज्यान बाउन सक्छ । घोप्टो पर्नुहोस्, गोडा थोरै फाटेर मरेको लास जस्तै लड्नुहोस् । शरिर अलिकति पनि नहल्लाइ विस्तारै सास फेर्नुहोस् । नौलो जीव देखेर भालु आफै पनि अत्तिएर झम्टिएको रहेछ भने उसले मानिसको शरिर पूरा सुँघेर जान्न खोज्दछ । यो अत्यन्त खतरनाक अवस्था हो । जे पनि हुन सक्छ । शिकार होइनरहेछ भन्ने उसले बुझयो भने तपाँइको भाग्य । उसले टोक्ने चिथोर्ने गर्दैन । उ त्यत्तिकै फर्कन सक्छ । भालु तपाइँलाइ छाडेर फर्किसक्यो भने पनि हत्तपत्त नउठ्नुहोस् । विस्तारै चियाउनुहोस् उ कहाँ पुग्यो । तर यदि तपाइँ उसको शिकार हो भन्ने भ्रममा उ रहेछ भने टोक्न थाल्दछ । अब भने उठेर न्वारन देखिको बल निकालेर हातमा जे आउँछ त्यसले हानेर कुनै पनि हालतमा भालुसंग युद्ध गर्र्नु भन्दा अर्को विकल्प हुँदैन । अधिकांश भालुको आक्रमण बढिमा दुइ मिनेटको हुन्छ । युद्धमा भालुलाइ जितेका, बाँचेका मानिस पनि छन् ।

(प्रिय पाठकहरु उपरोक्त जानकारी चितवन राष्टिय निकुन्ज छेउ (सौराहा) रहँदा, जंगल गाइडहरुको अनुभव, उनिहरुसँगको बार्तालाप, विज्ञहरुका खोज अनुसन्धान, पुस्तक र अनुभवका संगालोहरुबाट तैयार गरिएको हो । सोही अनुरुप लिइदिनहुन अनुरोध गर्दछु । धन्यबाद ।-अर्जुन पाण्डे)

प्रकाशित मिति : ३१ बैशाख २०८०, आईतवार ०६:४९