८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मानवस्तकरी प्रकरणः जसले पूर्वगृहमन्त्रीदेखि पूर्वगृहसचिवसम्मलाई पक्राउ गरे


२८ वैशाख, काठमाडाैँ । पूर्वगृहमन्त्री समेत भैसकेका प्रभावशाली नेतादेखि उच्चतहका कर्मचारी समेत पक्राउ हुँदै गएपछि प्रहरीप्रतिको भरोसा बढ्न थालेको छ । यही प्रकरणले केही वर्षयताका केही घटनाक्रमले गिर्दै गरेको साख र जनविश्वास प्रहरीले पुनः फर्काउने अवस्थामा पुगेको छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिकामा मानवतस्करी गर्न खोजेको गिरोहका विरूद्धमा पछिल्लो समय प्रहरीले चालेको कदमको सबैले प्रशंशा गरिरहेका छन । प्रहरीले चाहँदा अपारधीहरू उम्कन सक्दैनन् भन्ने सन्देश पनि अहिले प्रवाह भएको छ । यो सुखद् सन्देश प्रवाह हुनका लागि प्रहरी प्रमुख बसन्त कुँवर, काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा मनोजकुमार केसी र महानगरीय प्रहरी परिसर टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कर्कीको समन्वयले काम गरेको छ ।

तीनै जना कुशल व्यवसायिक छविका प्रहरी अधिकृतहरू हुन । यस पक्रियामा काम गर्नका लागि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समेत प्रहरीलाई सकारात्मक साथ दिइरहेका छन । यसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको समेत सकारात्मक साथ रहेको बुझिएको छ ।

यो पक्ररणमा उच्चतहका अभियुक्तहरू पक्राउ गर्ने काम काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालले गरिरहेको छ । जसले पूर्व गृहमन्त्री बालकृष्ण खाँडदेखि पूर्व गृहसचिव समेत रहेका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेसम्मलाई पक्राउ गरेर हिरासतमा पुर्याएको छ । उच्च राजनीतिक प्रभाव भएका बालकृष्ण खाँडहरूको हातमा हत्कडी लगाउनु सामन्य होइन भन्दै सामाजिक सञ्जालमा प्रहरीप्रति गाैरवबोध गरेका हजाराैँ प्रतिक्रियाहरू सार्वजनिक भएका छन ।

के हो नक्कली भुटानी शरणार्थी प्रकरण ?

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिकामा बेच्ने योजना तत्कालीन कांग्रेस, एमाले र माओवादी नेता कार्यकर्ता र विचौलियाको सेटिङमा तयार भएको थियो । यसमा तत्कालीन प्रधानमन्त्री समेत जोडिने विचौलियाहरूले बताइसकेका छन । उनीहरूले सचिव र मन्त्रीले प्रधानमन्त्रीसम्म बुझाउने भन्दै पैसा मागेको विषय प्रहरीसँगको बयानमा बताएका छन ।

गिरोहले ८७५ जना नेपालीसँग ५० लाख रूपैयाँ असुल गरेको उजुरीमा रहेको छ । गिरोहकै योजनामा तत्कालीन सरकाले २०७६ जेठ ३० मा भुटानी शरणार्थीसम्बन्धी समस्याको स्थायी समाधानका लागि पूर्व सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेको दाबी समेत कतिपयले गरिरहेका छन । उक्त कार्यदले २०७६ कात्तिक १ मा सरकारलाई प्रतिवेदन समेत दिएको थियो ।

को को कहिले पक्राउ परे ?

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिकामा मानवस्तकरी गर्ने गिरोहमा संलग्न भएकाहरू मध्ये अहिलेसम्म १२ जनालाई पक्राउ परेका छन । ती सबै काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालको अगुवाइमा पक्राउ परेका छन ।

२०८० वैशाख २७ गते

नेपाली कांग्रेसका प्रभावशाली नेता समेत रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँड र उका निजी सचिव नरेन्द्र केसी पक्राउ

२०८० वैशाख २६ गते

नक्कली शरणार्थी बनाइदिन्छु भनेर पैसा असुल्ने काममा लागेका टोखाका रामशरण केसी र झापाका गोविन्द चौधरी पक्राउ

२०८० वैशाख २०

पूर्व गृहसचिव समेत रहेका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ । पूर्व ऊर्जामन्त्री समेत रहेका एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ

२०८० वैशाख १९

तत्कालीन गृहमन्त्री एवं एमाले उपाध्यक्ष रामबहादुर थापा  बादलका सल्लाहकार इन्द्रजित राई पक्राउ

२०७९ चैत १५

विचाैलिया भनेर चिनिएका सागर राई पक्राउ

२०७९ चैत १२

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पुर्याइदिने प्रलोभन बाँडेर पैसा उठाउने काममा संलग्न पूर्वमन्त्री समेत रहेकी कांग्रेस नेतृ सुजाता कोइरालाका पूर्व स्वकीय सचिव केशव दुलाल, सानु भण्डारी र टेक गुरुङ पक्राउ

के गर्छ काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालले ?

यसको स्थापना २०५० सालमा काठमाडौँ प्रहरी परिसर मातहत ‘केरकार शाखा’ को रुपमा भएको थियो । पछि उपत्यका अपराध अनुसन्धान शाखा, महानगरीय अपराध अनुसन्धान महाशाखा हुँदै अहिले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालको रूपमा रहेको छ । यो २०६३ साल मंसिर १ देखि महाशाखाको रूपमा स्थापित भएको हो । तर धेरै पछिसम्म काठमाडौँ प्रहरी परिसरसँगै रहेको यो निकाय केही वर्षयता नयाँबानेश्वरमा रहेको छ ।

देशमा बढदै गएको अनियन्त्रित शहरीकरण, द्रुत आर्थिक कारोवार, खुलापन, बढ्दो बेरोजगारी तथा संगठित अपराधिक गिरोहहरुको गैह्रकानूनी गतिविधीका कारण काठमाण्डौं उपत्यकामा देखा परेका परम्परागत र आधुनिक प्रकृतिका अपराधहरुको प्रभावकारी नियन्त्रण र वस्तुनिष्ठ अनुसन्धान गर्न नेपाल प्रहरीले यो कार्यालयलाई जिम्मा दिएको छ ।

काठमाण्डौं उपत्यकाको बढ्दो जनघनत्व र अपराधमा प्रयोग भैरहेको आधुनिक प्रविधिको कारण यस महाशाखाको कार्यसम्पादनलाई गुणात्मक रुपमा अभिवृद्धि गर्दै लैजानुपर्ने यथार्थता अनुरुप उपलब्ध सीमित स्रोत र साधनको अधिकतम उपयोग गरी अपराधको परिणाममुखी र वस्तुनिष्ठ अनुसन्धान गर्ने जिम्मेवारी यस महाशाखाको मुख्य प्राथमिकता रहेको छ । मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत प्रहरीलाई अनुसन्धान गर्ने अख्तियारी प्राप्त मुद्धाहरुको दायराभित्र पर्न आउने अपराधहरु मध्ये काठमाण्डौं उपत्यकामा घटित बिभिन्न प्रकृतिका अपराधहरुको अनुसन्धान र नियन्त्रण गर्दै सुरक्षित काठमाडौँ उपत्यकाको अवधारणालाई साकार पार्ने कार्यमा यस कार्यालयले काम गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार १०:४५