१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

भीम रावलसँग वार्ता गर्न बनाएको एमालेको समिति नै वेपत्ता ! के भन्छन रावल ?


-पवित्रा मुडभरी

२६ वैशाख, काठमडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पार्टीका पूर्व उपाध्यक्ष डा भीम रावलसँग वार्ता गर्न बनाएको समिति नै एउटा छलफलपछि वेपत्ता भएको छ।  एमालेले गत चैत १८ गते पार्टीको केन्द्रीय सचिवालय बैठकबाट डा रावलसँग वार्ता गर्न भन्दै समिति गठन गरेको थियो ।

पार्टीका उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा गठित वार्ता समितिमा पार्टी सचिव लेखराज भट्ट र स्थायी कमिटी सदस्य कर्ण थापा सदस्य रहेका छन । सुदुरपश्चिम प्रदेशको विषय भएको र पार्टीको मिसन ग्रासरूट अभियानकै समयमा आन्तरिक विवाद समाधान गर्न भन्दै पार्टीले सुदुरपश्चिममा खटाएका उपाध्यक्ष पौडेल र सुदुरपश्चिमकै नेताहरू रहेको वार्ता समिति बनाइएको थियो । वार्ता समितिले सचिवालय बैठकको दुई हप्तापछि डा रावलसँग छलफल गरेको थियो तर फेरि तीन सातादेखि समित वेपत्ता भएको छ ।

पछिल्लो साता नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिकामा मानवतस्करी गर्ने गिरोहमा एमालेका सचिव टोपबहादुर रायमाझीको समेत संलग्नता भेटेर प्रहरीले पक्राउ पुर्जी समेत जारी गरेपछि एमाले नेतृत्व त्यसैको तनावमा अल्झिएको छ ।

वैशाख ३ मा पहिलो पटक समिति र रावलको बीचमा करिब दुई घण्टा छलफल भएको थियो । एमाले मुख्यालय च्यासलमा भएको छलफलपछि नेताहरूले निकै उत्साहपूर्ण प्रतिक्रिया दिँदै संवाद सहमति नजिक पुगेको र लगत्तै अर्को छलफल गरेर ठोस सहमति गरेर अघि बढ्ने बताएका थिए । तर त्यसपछि तीन सातासम्म समिति नै नेता र कार्यकर्ताहरूले खोज्नुपर्ने अवस्थामा पुगेको छ ।

समिति किन वेपत्ता भएको भन्दै दैनिकीले संयोजक विष्णु पौडेलसँग प्रतिक्रियाका लागि प्रयास गरे पनि उनी सम्पर्कमा आउन चाहेनन् । पौडेललाई पटक पटक पटक फोन सम्पर्कको प्रयास गर्दा पनि उनको फोन उठेन भने म्यासेज पठाउँदा पनि उनले रेस्पोन्स गरेनन् अर्थात उनी सम्पर्कमै आउन चाहेनन् ।

हामीले समिति किन हराएको भनि एमालेका सचिव समेत रहेका वार्ता टोलीका सदस्य लेखराज भट्टसँग प्रश्न गर्दा उनले फेरि बस्ने भनेर छुटेको र फेरि बस्न नपाएको बताए । उनले मिसन ग्रासरूट लगायतको कामले गर्दा रावलसँग फेरि बस्न नपाएको दाबी गरे ।

दैनिकीसँग कुरा गर्दै  भट्टले भने, ‘हामी फेरि बस्ने भनेर छुटेका थियौँ । पहिलो चरण बसेर कुरा गर्यौँ । अहिले केही भएको छैन । हामी बस्नै पाएका छैनौँ । मिसन ग्रासरूट लाग्यो अब अहिले प्रतिवेदन बनाउने र अन्य बैठक गर्ने लगायतका काममा छौँ । चाँडै नै बसेर टुंग्याउछौँ ।’

यस्तै वार्ता समितिका अर्का सदस्य स्थायी कमिटी सदस्य समेत रहेका कर्ण थापासँग चासो राख्दा उनले रावलसँग करिब सहमति भैसकेको र संयोजकले अध्यक्ष र रावलको बीचमा भेट गराउने कुरा भएको जानकारी दिए । उनले रावलसँग सकारात्मक कुराकानी भएर विषय करिब टुंगिसकेको बताए ।

वैशाख ३ पछि फेरि वार्तामा बस्नु भएन नि भन्ने दैनिकीको प्रश्नमा उनले भने, ‘यसमा त कुरै भएन । यो त पटक पटक वार्ता गरिरहनुपर्ने विषय नै भएन । रावलजी पार्टीमै रहने र पार्टीले उपयुक्त खालको जिम्मेवारी दिने भन्ने निष्कर्ष छ ।’ उनले वार्तापछि अध्यक्षसँग भेट्ने कुरा भएको बताउँदै त्यसपछि के भयो भन्ने विषयमा भने आफू जानकार नरहेको बताए ।

एमाले स्रोतका अनुसार पार्टी अध्यक्ष ओली र पूर्व उपाध्यक्ष रावलको बीचमा भेट गराएर संवादहिनता तोडाउने कामको जिम्मा संयोजक पौडेलले पाएका थिए । संवादहिनता तोड्उने र मिल्नै नसक्ने विषयमा समेत मिलाउन सक्ने भन्दै कुशल नेताको पहिचान बनाएका पौडेलले भ्याएनन् वा ओलीले नै थप अघि बढ्न चाहेनन् त्यो भने समयक्रममा खुल्दै जानेछ ।

एमालेको केन्द्रीय सदस्य समेत रहेका प्रचार विभागका उपप्रमुख विष्णु रिजालसँग वार्ता समितिको अवस्थाका बारेमा चासो राख्दो उनले संयोजक पौडेलसँग आफूले पनि अपडेट लिन नपाएको बताए ।

एमालेले डा रावलसँग वार्ता समिति बनाउनु अघि अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर कुराकानी गरेका सांसद समेत रहेका केन्द्रीय सदस्य दयालबहादुर शाही वार्ता समिति बनेर नेताहरूको बीचमा संवाद हुनु आफैँमा राम्रो कुरा भए पनि यसलाई छिटो टुंगोमा नपुर्याउनु भने रहस्यमय भएको बताए ।

दैनिकीसँग कुरा गर्दै सांसद शाहीले भने, ‘दशौँ महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गरेका दुई नेताको बीचमा रहेको संवादहिनता तोड्नका लागि वार्ता समितिले वातावरण बनाउने कुरा आफैँमा राम्रो छ । चुनावमा टिकट सिफारिस भएदेखि निर्णयसम्म भएका गतिबिधिदेखि चुनावी नतिजामा परेको असर मसिनो ढंगले विश्लेषण गरेर सुदुरपश्चिममा पार्टी एक ढिक्का बनाउनुपर्छ भनेर म लागेको छु । पार्टीको महाधिवेशन भन्दा बाहेकको समयमा पार्टी नेतृत्वले पनि गुटवादी चिन्तनबाट हेर्न हुन्न विगतमा माधव नेपालले पनि त्यही गरेर हामीले दुःख पाएका थियौँ । अब त्यसो नहोस् भन्नका लागि नेताहरूले संवेदनशील भएर काम गर्नुहुन्छ भन्ने विश्वास रहेको छ ।’

के भन्छन रावल  ? 

हामीले एमालेका पूर्व उपाध्यक्ष रावलसँग तीन सातादेखि वार्ता समिति र तपाईको बीचमा किन संवाद हुन सकेन भनेर प्रश्न गर्दा उनले आफूलाई खबर गर्ने भनेर समितिका साथीहरूले भनेको तर अहिलेसम्म केही खबर नगरेको बताए ।

दैनिकीसँग कुरा गर्दै उनले भने, ‘वैशाख ३ को छलफलबाट उठ्दा उहाँहरूले खबर गर्छु भन्नुभएको थियो । अहिलेसम्म केही खबर गर्नुभएको छैन । किन गर्नुभएन भन्ने कुरा गर्नुहुन्छ भने यो प्रश्न उहाँहरूलाई नै गर्दा राम्रो होला ।’

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलवार १६:०९