१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

एमालेभित्र सर्वहारावादी साँस्कृतिक क्रान्तिको आवश्यकता


-सरोजकुमार तामाङ

‘दक्षिणपन्थी अवसरवाद र सांगठनिक अराजकतालाई परास्त गरौं ! जनताको बहुदलीय जनवादको मार्गनिर्देशमा समाजवादको आधार निर्माण गरौं !’

हामी नेकपा एमालेजनले भन्ने गरेका यी माथिका शब्दहरुको भावार्थ बोध गर्ने हो भने हामीभित्र देखापरेका मानव तस्करी र भ्रष्टचारीहरुलाई कार्वाहीको दायराभित्र ल्याउँदै जनताको निर्णायक शक्ति नेकपा एमालेभित्र विशुद्ध जनता, जनसंगठन र जनसंघर्षका कार्यक्रमहरुले ओतप्रोत हुनुपर्छ । हामी कम्युनिष्टहरुले गर्ने राजनीति ब्यक्ति विशेषको विकास नभई समग्र समाजको आमूल परिवर्तनको निम्ति समर्पित गर्ने हुँदा शताब्दीऔंदेखी ती शोषित, उत्पीडित जनताको पक्षमा पैरवी गर्ने शक्तिले भ्रष्टचारी, अवसरवादी, माफिया, दलाल र विचौलियाबाट जनसंगठनहरुलाई टाढै राख्नुपर्छ ।

हाम्रा कार्यक्रम र मुद्दाहरु भ्रष्टचारी र अवसरवादीहरुलाई चोख्याउने खालको हुनुहुँदैन् । मानिसका असिमित चाहानाहरु हुन्छन् । तर, ती असिमित चाहाना र आवश्यकताहरुलाई परिपूर्ति गर्न समाज र प्रकृतिसँग सिमित मात्रामा स्रोत र साधन भएको हुँदा ब्यक्तिमा अवसरवादको हावी हुनु कुनै नौलो बिषय होइन् । यहाँ नौलो बिषय त के हो भने आफ्ना अवसरवादी सोचको हूटहूटी रोक्दै वृहतर समाजको विकासको निमित्त त्याग गर्न सक्नु नै वास्तवमा महान् मानवको हूलिया हो ।

वर्तमान परिप्रेक्ष्यमा हाम्रा जनसंघर्षका कार्यक्रमहरु भनेका गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र खानेपानी जस्ता जनजिविकाका सवालहरुलाई राज्यको तर्फबाट ग्यारेन्टीकासाथ उपलब्ध गराउन नेकपा एमालेले सडकदेखी सदनसम्म जनआवाज बुलन्द गराउने हो । त्यसैले, जनताको मूलभूत मुद्दाहरुलाई किनारा लगाउँदै दिशाविहीन तरिकाले एक चुनावदेखी अर्को चुनावसम्मको फन्को मात्र मार्ने हो भने मार्क्सवादले भन्ने गरेको वैज्ञानिक समाजवाद उदय हुन सक्दैँन् ।

बहुदलीय प्रतिस्पर्धाको माध्यमबाट नेपालको बिशिष्ट परिवेशमा समाजवादको प्रादूर्भाव गर्न जननेता मदन भण्डारीद्धारा प्रतिपादित जनताको बहुदलीय जनवाद अहिले दक्षिणपन्थी अवसरवाद र सांगठनिक अराजकतालाई बचाउने शिविरको रुपमा परिन्त नहोस् । बेलैमा हामी समाजका परिवर्तनकामी शक्तिहरुले यो कुरा बुझ्न जरुरी देखिन्छ । जुन शक्ति परिवर्तनको निम्ति हिडेको हुन्छ, उसका मार्गहरुमा वाधा-अटचनहरु आउनु स्वभाविकै हो ।

यो हाम्रो परिवर्तनशील सोचलाई भुत्ते बनाउन र खियाले मक्काउन लागि पर्नेहरुको कमी यो धर्ती छैन् । यसरी चौतर्फी घेराबन्दीको अवस्थामा पनि निकास र विकासको निम्ति तम्तयार हाम्रा सैयौं हजारौं सोचहरुलाई हूर्कन र फक्रन वाताबरण तय गर्दै जनजिविकाको सवालमा जनताको मोर्चालाई कमी हुन नदिन मन र वचनले एक हुनुपर्छ ।

तर, हाम्रा नेतृत्वतहले चौतर्फी घेराबन्दीको मन्त्र जप्दै एमालेजन, शुभेच्छुक, समर्थक र जनतालाई भ्रष्टचारी,अवसरवादी, माफिया र दलाल लुकाउने भुलभुलैयामा नराखोस् । स्मरणरहोस् २००६ साल बैशाख १० गते कलकत्ताको श्यामबजारमा सामन्तवाद, दलाल नोकरशाही पुँजीवाद र साम्राज्यवादको शोषण र उत्पीडनबाट नेपाली समाजलाई मुक्त गर्नको लागि स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीको मूलधार आजको नेकपा एमाले अवसरवादीहरुलाई ढाकछोप गर्ने बंकर नबनोस् ।

जबजब हामीले आमूल सामाजिक परिवर्तनका मुद्दाहरुलाई आफ्नो जन्मकुन्डीमा कोरियौं, तबतब प्रतिक्रियावादी शक्तिहरुले न्वारनदेखीको बल प्रयोग गर्दै हामीमाथि प्रहार गरेको इतिहास जिवित्तै रहेको छ । उदाहरणार्थ, २००८ सालपछि तत्कालीन नेकपामाथिको प्रतिबन्ध, २०४६ सालको प्रजातन्त्र पश्चात गरिएको जननेता मदन भण्डारीको हत्या, २०७२ सालको भूकम्पले थिलोथिलो बनेको हाम्रो मुलुकमाथिको भारतीय नाकाबन्दी साथै गत निर्वाचनको पूर्वसन्ध्यामा भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको तन्त्रमन्त्रमा बनिएको नेकपा एमालेलाई पत्तासाफ गराउने असफल अभियान नै किन नहोस् ।

प्रतिक्रियावादीहरुको मनोगत ढंगले चलेका यी सबैखाले जंजीरहरुलाई तोड्दै आज हामी जनताको आश र भरोसाको केन्द्रको रुपमा सगरमाथा झैं अटल र विशाल शक्तिको रुपमा जनमत र जनविश्वासले उभिएका छौं । सुन्दा दत्यकथा भन्दा कम नलाग्ने नेकपा एमालेको वास्तविक इतिहास र साहसका साथ जनपक्षीय मुद्दाहरुमा आफूलाई खार्दै आजको यस विशाल भरोसायोग्य दलको रुपमा जनताले आस्था गरेको पार्टीमा अवसरवादले हालीमूहाली गर्न नसकोस् भनेरै ग्रासरुट कार्यक्रम संचालन गर्यौं ।

त्यो रसिलो ग्रासरुट कार्यक्रममा जनता र कार्यकर्ताको उत्साहजनक उपस्थितिले के बोल्छ भने तिमी नेकपा एमाले हाम्रो आस्थाको केन्द्र हो । यदि कुनैपनि शक्तिले यो मुलुकको कायाकल्प गर्नसक्छ भने तिमी एमाले नै हौ । तसर्थ, तिमीभित्र अवसरवादीप्रति क्रूर र जनताप्रति अथाह माया र स्नेहले भरिपुर्ण हुनुपर्छ भन्ने सन्देश भावानात्मक रुपले ब्यक्त भएको छ ।

जननेता मदन भण्डारीको हत्याले लोपोन्मुख नभएको नेकपा एमाले, भारतीय विस्तारवादको नाकाबन्दी डटेर सामाना गरी जुर्मुराएको नेकपा एमाले, कालापानी-लिपुलेक-लिम्पियाधुराको नयाँ नक्शा जारी गर्दै भारतीय विस्तारवादको चिहान खन्ने नेकपा एमाले अब अवसरवादीहरुको जन्मकुन्डी नामेट पार्ने अभियानका साथ सर्वहारावादी साँस्कृतिक क्रान्तिको पक्षमा दृढताका साथ उभिनु पर्छ । उभिनु पर्छ मात्र होइन, उभ्याउनुपर्छ । समयले पर्दछ होइन, पर्छ भनिदैँछ ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आईतवार ०९:१९