६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

-प्रकाश सिलवाल

माथि डाँडाबाट
घाम झुल्किरहेछ
खोला
र बगरको किनारमा समेत
उज्ज्यालो लम्किरहेछ ।

मनिसका
निर्बन्ध पखेटाहरू मुस्कुराइरहेछन्
कर्मठ र साहसी हत्केलाहरू
शङ्खध्वनिको बिगुल फुक्न
तम्सिरहेको जस्तै देखिन्छ ।

बगैंचातिरका फूलहरू
आजै फक्रिएको झैं लाग्छ
त्यतैतिर
उभिएका चराहरू पनि
घुर्माइलो बिहानीमा
आफूलाई जगत्भन्दा स्वतन्त्र ठान्दै
मानिसका
आकाङ्क्षाहरूसँग
एकाकार गर्ने तयारी गर्दैछन् ।

तिनै उर्लिएका चराचर मनहरूको
छेउमै हाँसिरहेको
डाँफेले सोध्छ–
तिम्रो राज्यमा
हाम्रा आवाजहरूको सुनुवाइ
हुन्छ कि हुँदैन ?

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार १०:०३