७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

रसुवा अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमकाे सुरुवात


जिल्ला अस्पताल रसुवाले आइतबारदेखि स्वास्थ्य बीमाको काम अघि बढाएको छ । सबै नागरिकलाई स्वास्थ्य बीमा गराई उपचार प्रभावकारी बनाउने उद्देश्यले अस्पतालले बीमासम्बन्धी काम अघि बढाएको हो ।

जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले स्वास्थ्य बीमा कार्यान्वयनको थालनी गरे । बीमासम्बन्धी काम गर्न छुट्टै कार्यालय स्थापना भइसकेको छ ।

बीमाले यथेष्ठ उपचार सेवा प्रदान गर्ने भएकाले सबै दाजुभाई तथा दिदीबहिनी यस कार्यक्रममा सहभागी हुन अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमितकुमार शाहले आग्रह गरे ।

एउटा घरका पाँच जनासम्म परिवारका लागि एकमुष्ठ रु तीन हजार पाँच सय प्रिमियम बुझाएर बीमा गर्न सकिन्छ । एक वर्षसम्म बहाल रहने बीमा कार्डले रु एक लाखसम्मको औषधिसहित सबै प्रकारका उपचार एवं परीक्षण गर्न सकिन्छ ।

स्वास्थ्य बीमाको कार्ड प्राप्त गरेका तर स्थानीय अस्पतालमा उपचार हुन नसकेका नागरिकलाई थप उपचार गराउन काठमाडौँको सरकारी अस्पतालमा पनि बीमाले सहयोग गर्नेछ ।

जिल्लाका पाँच गाउँपालिकामध्ये कालिका गाउँपालिका धैबुङले सम्पूर्ण वडावासीलाई गत फागुनदेखिनै लागू हुनेगरी स्वास्थ्य बीमा गराई रकम भुक्तानी समेत गरेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार १५:१७