१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

विद्युत उत्पादन घटेकोले लोडसेडिङ भएको हाे, १५ दिनभित्र समस्या समाधान हुन्छः कुलमान घिसिङ


१० वैशाख, काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अघिल्लो वर्षकोभन्दा २५ देखि ३० प्रतिशतले उत्पादन घटेको हुनाले लोडसेडिङ् भएको प्रष्टीकरण दिएका छन् ।

देशमा लोडसेडिङको समस्या बढ्न थालेपछि आइतबार नेपाल विद्युत प्राधिकरणको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यकारी निर्देशक घिसिङले विगतमा भन्दा यो वर्ष पानी र हिउँ कम परेको हुनाले विद्युत उत्पादनमा समस्याहरु आएको बताए । उनले यो समस्या १५ दिनभित्र समाधान हुने विश्वास व्यक्त गरे ।

उनले यो छोटो समयको समस्या भएको हुनाले यसलाई सामान्य रुपमा लिन पनि उद्यमीहरुलाई आग्रह गरेका छन् । उनले भने, विगत केही समयमा उद्यमी साथिहरुले लोडसेडिङ् धेरै भएको कुरा आएको छ, त्यसमा पहिलो वर्ष धेरै पानी र हिउँ पनि परेको हुनाले जेनेरेसन राम्रो थियो, यसपाली पानी र हिउँ धेरै नपरेको हुनाले जेनेरेसज एकदमै घटेको छ ।१०, १५ दिनअलि समस्या हुन सक्छ, यो हाम्रो एकदम सुख्खायाम भएको हुनाले धेरै समस्या भएको हो, त्यसलाई बुझ्नु आवश्यक हुन्छ । यसलाई ठूलो समस्याको रुपमा लिनु भएन छोटो समयको समस्या हो, अर्को वर्ष यो समस्या नआउने गरेर काम गरिरहेका छौ ।

आइतबार विराटनगरका उद्यमी व्यवसायीहरुले बारम्बार भइरहेको लोडसेडिङले आफुहरुलाई आजित बनाएको भन्दै लोडसेडिङको समय तालिका उपलब्ध गराई दिन विद्युत प्राधिकरणलाई आग्रह गरेका थिए । विना जानकारी विद्युत कटौती हुने गरेको भन्दै सुनसरी मोरङ औद्योगिक करिडोरका व्यवसायीहरुले विराटनगरमा प्रदर्शन पनि गर्दै आएका छन् ।

प्रकाशित मिति : १० बैशाख २०८०, आईतवार १६:५७