८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

खारेजी प्रक्रियामा रहेको क्रिष्टल फाइनान्सका ग्राहकलाई निक्षेप भुक्तानीका लागि दाबी पेस गर्न आह्वान


१० वैशाख, काठमाडाैं । खारेजीको प्रक्रियामा रहेको साविक क्रिष्टल फाइनान्स लिमिटेडमा निक्षेप खाता रहेका व्यक्ति, सङ्घ तथा संस्थालाई आफ्नो निक्षेप फिर्ता लिन सूचना जारी भएको छ ।

कम्पनी खारेजीको काम कारबाही गर्न उच्च अदालत पाटनको आदेशबमोजिम स्थापना भएको लिक्विडेटरको कार्यालयले आज यस्तो सूचना जारी गरेको हो ।

क्रिष्टल फाइनान्सबाट पैसा फिर्ता लिन बाँकी रहेका व्यक्ति तथा संस्थालाई १५ दिनभित्र आफ्नो निक्षेप भुक्तानी लिन दाबी पेस गर्न भनिएको छ । निक्षेपकर्ताले आफ्नो निक्षेप दाबी गर्दा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, कम्पनी, सङ्घसंस्थाको हकमा दर्ता तथा प्यान प्रमाणपत्रको प्रतिलिपि, निक्षेपकर्ताको खातामा रहेको नाम, खाता खोल्दाका बखतको हस्ताक्षरलगायतका कागजात एवं विवरण पेस गर्न भनिएको छ ।

सो कम्पनीलाई ऋण दिएका व्यक्ति तथा संस्थालाई आफ्नो ऋण दाबी पेस गर्न लिक्विडेटरको कार्यालय यसअघि नै सूचना जारी गरिसकेको छ । क्रिष्टल फाइनान्स लिमिटेडले नेपाल राष्ट्र बैंकबाट २०५८ फागुन ८ गते ‘ग’ वर्गको वित्तीय संस्थाका रुपमा इजाजत पाएको थियो ।

वित्तीय अवस्था बिग्रिएपछि यो कम्पनीलाई राष्ट्र बैंकले विसं २०६९ मा समस्याग्रस्त घोषणा गरेको थियो । उच्च अदालत पाटनको विसं २०७२ कात्तिक २० गतेको फैसलाअनुसार राष्ट्र बैंकले २०७७ भदौमा यो कम्पनीको लाइसेन्स खारेज गरेको थियो ।

प्रकाशित मिति : १० बैशाख २०८०, आईतवार १२:४३